सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटड (नेप्से)ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ। नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र स्नो रिभर्स लिमिटेडको बोनस शेयर वितरणलाई आधार बनाएर शेयरमूल्य समायोजन गरेको हो।
साधारणसभा तथा लाभांश वितरणका लागि दुवै कम्पनीले बुक क्लोज गरेपछि नेप्सेले बोनस शेयरको अनुपातअनुसार समायोजित मूल्य निर्धारण गरेको हो। सांग्रिला डेभलपमेन्ट बैंकको ४ प्रतिशत र स्नो रिभर्सको १० प्रतिशत बोनस शेयर समायोजन गरिएको छ।
समायोजनपछि सांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य प्रतिकित्ता ४११ रुपैयाँ ५४ पैसा कायम भएको छ। त्यसैगरी स्नो रिभर्सको समायोजित शेयरमूल्य प्रतिकित्ता ८५९ रुपैयाँ ९ पैसा निर्धारण गरिएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यलाई आधार बनाएर दुवै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो दिन दोस्रो बजारमा सांग्रिला डेभलपमेन्ट बैंकको शेयर प्रतिकित्ता ४२८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। त्यस्तै स्नो रिभर्सको शेयर प्रतिकित्ता ९४५ रुपैयाँमा कारोबार बन्द भएको थियो।
बोनस शेयर समायोजनपछि कायम भएको नयाँ मूल्यलाई आधार बनाएर आज बिहीबारदेखि दुवै कम्पनीको दोस्रो बजार कारोबार सञ्चालन हुनेछ।










