नयाँ डिजाइनसहित १ हजार रुपैयाँको बैंकनोट प्रचलनमा आउँदै

८ आश्विन २०८३, बिहीबार ०८:५८

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन र सुरक्षा विशेषतासहित १ हजार रुपैयाँ दरको बैंकनोट प्रचलनमा ल्याउने भएको छ। बैंकले सिरिज २०२५ को १ हजार रुपैयाँको नोट साविककै आकारमा तर परिवर्तन गरिएको रंग र नयाँ सुरक्षा विशेषतासहित चलनचल्तीमा ल्याउन लागेको हो।

नयाँ नोटको मुख्य रंग बैजनी घेराभित्र फिक्का हरियो रहनेछ। नोटको अगाडिको भागमा सगरमाथाको चित्र र लालीगुराँसको पानीछाप राखिएको छ। पानीछापमा १ हजार अंकसमेत देखिनेछ। प्रकाशतर्फ हेर्दा पूर्ण रूपमा १ हजार अंक देखिने गरी ‘सी थ्रु रजिस्टर’ पनि राखिएको छ।

दृष्टिविहीन व्यक्तिले सहजै पहिचान गर्न सक्ने गरी नोटमा रोमन अक्षर ‘एम’ तथा तेर्सा रेखाहरू राखिएका छन्। त्यस्तै सगरमाथाको छेउमा अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र राखिएको राष्ट्र बैंकले जनाएको छ। नोटमा ३ दशमलव ५ मिलिमिटर चौडाइको विशेष सुरक्षा धागो प्रयोग गरिएको छ। सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने उक्त धागोमा ‘एनआरबी’ र ‘१०००’ अंक राखिएको छ। नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखतसमेत रहेको छ।

नोटको पछाडिको भागमा चितवनको सरकारी हात्तीसारमा रहेका नेपाली हात्तीमध्ये देवकली नामको हात्तीबाट जन्मिएका दुर्लभ मानिने जुम्ल्याहा हात्ती राम र लक्ष्मणको चित्र राखिएको छ। यसका साथै सातवटै प्रदेशलाई जनाउने गरी सातवटा लालीगुराँसका चित्र पनि प्रयोग गरिएको छ। पछाडिको भागमा ‘रुपिज वान थाउजेन्ड’ लेखिएको छ भने हनुमानढोकास्थित ल्हाँचोकमा रहेको ऐतिहासिक महत्वको थामको आकृति राखिएको छ। नोटको तल्लो भागमा सिरिज २०२५ एडी उल्लेख गरिएको छ।

राष्ट्र बैंकका अनुसार यसअघि सिरिज २०१९ को १ हजार रुपैयाँका नोटमध्ये सीमित संख्यामा मात्र चलनचल्तीमा ल्याइएको थियो। नयाँ सिरिजको नोट भने यसअघि प्रयोगमा नआएको क्रमबाट सुरु गरिएको बैंकले जनाएको छ। राष्ट्र बैंकले नयाँ नोट प्रचलनमा आए पनि १ हजार रुपैयाँ दरका अन्य नोटहरू पनि कानुनी रूपमा चलनचल्तीमा रहने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*