दुई महिनामै बैंकहरूको कर्जा ६१ अर्बले बढ्यो, ग्लोबल आइएमईले नबिललाई उछिन्यो

८ आश्विन २०८३, बिहीबार १२:२५

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानीमा सुधार देखिएको छ । साउन र भदौमा २० वटा वाणिज्य बैंकको कुल कर्जा लगानी ६० अर्ब ९७ करोड रुपैयाँले बढेर भदौ मसान्तसम्म ५३ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ पुगेको हो ।

असार मसान्तमा वाणिज्य बैंकहरूको कुल कर्जा लगानी ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ थियो । दुई महिनामा कर्जा लगानी ६१ अर्बले विस्तार भएको देखिन्छ ।

कर्जा विस्तारको हिसाबले पहिलो दुई महिनामा ग्लोबल आईएमई बैंक सबैभन्दा अगाडि देखिएको छ । बैंकले असार मसान्तको तुलनामा २० अर्ब १ करोड रुपैयाँले कर्जा बढाउँदै भदौसम्म कुल कर्जा लगानी ४ खर्ब ९६ अर्ब ८५ करोड रुपैयाँ पुर्‍याएको छ । यससँगै ग्लोबल आईएमई कुल कर्जा लगानीको आकारमा पनि पहिलो स्थानमा उक्लिएको छ ।

एभरेष्ट बैंकले दुई महिनामा १२ अर्ब ८८ करोड रुपैयाँ कर्जा थपेको छ । बैंकको कुल कर्जा लगानी २ खर्ब ६० अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, लक्ष्मी सनराइज बैंकको कर्जा १० अर्ब ३१ करोड रुपैयाँ बढेर ३ खर्ब ३० अर्ब ७७ करोड पुगेको छ ।

कुमारी बैंकले ७ अर्ब ६५ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ भने नबिल बैंकले ७ अर्ब ६ करोड रुपैयाँ थपेको छ । यस अवधिमा सिद्धार्थ बैंकको कर्जा ४ अर्ब ८० करोड, माछापुच्छ्रे बैंकको ४ अर्ब ७४ करोड र एनएमबि बैंकको ४ अर्ब २९ करोड रुपैयाँले बढेको छ । कृषि विकास बैंकले ६९ करोड रुपैयाँ कर्जा थप्दा नेपाल बैंकको कर्जा लगानी २ अर्ब १९ करोड रुपैयाँले बढेको छ ।

तर, सबै बैंकको कर्जा लगानी भने बढेको छैन । दुई महिनाको अवधिमा २० मध्ये ८ वटा बैंकको कर्जा पोर्टफोलियो घटेको छ । सबैभन्दा ठूलो गिरावट एनआईसी एशिया बैंकमा देखिएको छ । बैंकको कर्जा लगानी ६ अर्ब ६९ करोड रुपैयाँले घटेर भदौ मसान्तमा २ खर्ब ४ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ ।

सानिमा बैंकको कर्जा ३ अर्ब ४६ करोड रुपैयाँले घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब १ करोड, प्रभु बैंकको २ अर्ब ७९ करोड र प्राइम कमर्सियल बैंकको १ अर्ब ४१ करोड रुपैयाँले घटेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्जा ५३ करोड र हिमालयन बैंकको ३१ करोड रुपैयाँले घट्दा स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा लगानी पनि २ करोड रुपैयाँले कम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*