शेयर बजारमा झिनो सुधारः कारोबार खुम्चियो, किन लय समाउन सकेको छैन मार्केट ?

८ आश्विन २०८३, बिहीबार १५:०६

काठमाडौँ । शेयर बजारमा नीतिगत सुधारका पहल अघि बढे पनि लगानीकर्ताको अन्योल कायमै देखिएको छ । बजार सुधारका लागि अर्थ मन्त्रालयले सार्वजनिक गरेको २१ बुँदे राहत तथा सुधार प्याकेज, सम्पत्ति शुद्धीकरणसम्बन्धी त्रास कम गर्ने प्रयास तथा पुँजीगत लाभकर घटाउने निर्णयले बजारमा सकारात्मक अपेक्षा सिर्जना गरेको थियो । नेपाल राष्ट्र बैंकले पनि शेयर बजारसँग सम्बन्धित केही नीतिमा लचकता अपनाएको तथा नेपाल धितोपत्र बोर्ड बजार सुधारका विषयमा सक्रिय देखिए पनि त्यसको प्रत्यक्ष प्रभाव कारोबारमा भने कमजोर देखिएको छ । बुधबारको भारी गिरावटपछि बिहीबार केही झिनो सुधार देखिए पनि लगानीकर्ताको ‘पर्ख र हेर’को रणनीति कायमै रहेको छ ।

लाभांश सिजन सुरु भइसकेको र सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा लाभांश घोषणा गर्न थालेको अवस्थामा समेत बजारमा अपेक्षित उत्साह देखिएको छैन । सामान्यतया लाभांश घोषणा र कम्पनीहरूको वित्तीय अवस्थाले लगानीकर्तालाई बजारतर्फ आकर्षित गर्ने भए पनि पछिल्लो समय त्यसको प्रभाव सीमित देखिएको छ । लामो समयको दबाबका कारण कतिपय कम्पनीको शेयरमूल्य तुलनात्मक रूपमा आकर्षक बिन्दुमा पुगेको र नीतिगत अवरोधसमेत क्रमशः कम हुँदै गएको भन्दै केही लगानीकर्ताले बजारमा प्रवेशका लागि अवसर बनेको बताइरहेका छन् । तर, नीतिगत आधार तयार हुँदाहुँदै पनि बजारले गति लिन नसक्नुले लगानीकर्ताको विश्वास र बजार मनोविज्ञान अझै निर्णायक अवस्थामा रहेको देखाएको छ ।

यसबीच ठूला लगानीकर्तामाथि सम्पत्ति शुद्धीकरण तथा लगानीको स्रोतसम्बन्धी अनुसन्धान अघि बढेको विषयले समेत बजारमा मनोवैज्ञानिक दबाब सिर्जना गरेको चर्चा छ । लगानीको स्रोतबारे प्रश्न उठ्न सक्ने त्रासका कारण ठूलो पूँजी परिचालन गर्ने लगानीकर्ता केही हदसम्म पछि हटेको बजार सहभागीहरूको बुझाइ छ । ठूला लगानीकर्ताको सक्रियता कमजोर हुँदा साना तथा मध्यम लगानीकर्ताको सहभागिताले मात्र पर्याप्त माग सिर्जना गर्न कठिन हुने भएकाले पछिल्लो बजार दबाबलाई कतिपयले नीतिगत समस्याभन्दा नियामकीय त्रास र लगानीकर्ताको मनोविज्ञानसँग जोडेर हेरेका छन् । यसले सुधारका नीतिगत प्रयासलाई कारोबार र मागमा रूपान्तरण गर्न अझै समय लाग्न सक्ने संकेत गरेको छ ।

यता नेपालीहरूको प्रमुख चाड दशैं नजिकिँदै जाँदा बजारमा बिक्रीको अर्को मनोवैज्ञानिक दबाबसमेत थपिएको देखिन्छ । दशैंका लागि आवश्यक खर्चको जोहो गर्न केही लगानीकर्ताले शेयर बिक्री गर्न थालेकाले बजारमा आपूर्ति बढेको बजार सहभागीहरूको भनाइ छ । चाडपर्वका कारण तत्काल नयाँ लगानीभन्दा नगद व्यवस्थापनलाई प्राथमिकता दिने प्रवृत्ति बढ्दा बजारमा माग कमजोर हुन सक्ने देखिएको छ । त्यसैले नीतिगत सुधार, लाभांश सिजन र तुलनात्मक रूपमा आकर्षक शेयरमूल्य हुँदाहुँदै पनि लगानीकर्ताको विश्वास, तरलता, जोखिम लिने क्षमता तथा दशैंअघिको खर्च व्यवस्थापनजस्ता पक्षले बजारको आगामी दिशा निर्धारण गर्ने देखिन्छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.७७ अकंले बढेर २६२९.८१ बिन्दुमा कायम भएको छ । आज ३५६ कम्पनीको १ करोड ७२ लाख ७० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड ७३ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचकमा सुधार देखिएको छ । तर, निर्जीवन बीमा कम्पनीको शेयर भने घटेको हो । देशभर केहि दिन भारी वर्षा हुने हुँदा निर्जीवन बीमा कम्पनीलाई असर गर्ने डरले सो सेक्टरको शेयर घटेको देखिन्छ ।

बिहिबार १७६ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ । ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*