नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ५१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले १ लाख ५१ हजार ५३४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बैंकका संस्थापक शेयरधनी कम्पनी सोफिया इन्भेष्टमेण्ट प्रालिका शेयरधनी किरण मान शेरचनले आफ्नो नाममा रहेको उक्त शेयर बिक्री गर्न खोजेका हुन्। शेयरसँग सम्बन्धित लाभ तथा दायित्वसमेत बिक्री गरिने बैंकले जनाएको छ।
बैंकले विद्यमान संस्थापक शेयरधनीका लागि प्राथमिकतासहित उक्त शेयर खरिद गर्न इच्छुकलाई आवेदन दिन आग्रह गरेको छ। साविक समूह ‘क’ का कुनै संस्थापक शेयरधनीले शेयर खरिद गर्न चाहेमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकलाई लिखित जानकारी गराउनुपर्नेछ।
आवेदन दिँदा इच्छुक संस्थापक शेयरधनीले आफूले खरिद गर्न चाहेको शेयरको संख्या र त्यसका लागि तिर्न तयार रहेको रकमसमेत खुलाउनुपर्ने बैंकले जनाएको छ। इच्छुक संस्थापक शेयरधनीले बैंकको केन्द्रीय कार्यालय, दरबारमार्ग, काठमाडौंमा लिखित जानकारी गराउन सक्नेछन्।










