नेपाल वित्तीय संस्था संघको अध्यक्षमा रजोज मान श्रेष्ठ

काठमाडौं । नेपाल वित्तीय संस्था संघको नयाँ अध्यक्षमा सेन्ट्रल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रजोज मान श्रेष्ठ चयन भएका छन्।
संघको ३०औँ तथा ३१औँ वार्षिक साधारण सभाबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो। काठमाडौंमा असोज २ गते सम्पन्न साधारण सभाले आगामी कार्यकालका लागि पदाधिकारी तथा सदस्यहरू निर्वाचित गरेको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा नेपाल फाइनान्स लिमिटेडका सीईओ उद्धवराज थपलिया र महासचिवमा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका सीईओ अनिल श्रेष्ठ रहेका छन्।
त्यसैगरी, कार्यसमिति सदस्यमा गोर्खाज फाइनान्स लिमिटेडका सीईओ ज्ञानेन्द्र इवाहाङ र श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडका सीईओ अनिल जोशी चयन भएका छन्।
साधारण सभामा संघले यसअघि सञ्चालन गरेका गतिविधि तथा हासिल भएका प्रगतिको समीक्षा गर्दै आगामी कार्यकालका प्राथमिकतामाथि समेत छलफल गरेको जनाइएको छ।










