भोटेकोशी बाढीको वैज्ञानिक अध्ययन र क्षति मूल्यांकनमा एडिबीले सघाउने

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको वैज्ञानिक अध्ययन तथा मूल्यांकनमा एसियाली विकास बैंक (एडिबी)ले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्ना कोसवाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँगको भेटमा बाढीको वैज्ञानिक अध्ययन र क्षति मूल्यांकनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
भेटमा जलवायुमैत्री विद्युत् पूर्वाधार निर्माणका लागि सहकार्य र सहयोग गर्ने विषयमा समेत छलफल भएको थियो। सो क्रममा मन्त्री श्रेष्ठले भोटेकोशी बाढीको वैज्ञानिक कारण र आधार पहिचान गर्न मन्त्रालयले विज्ञ समिति गठन गरी अध्ययन गरिरहेको जानकारी गराएका थिए।
मन्त्री श्रेष्ठले अबको विद्युत् तथा पूर्वाधार करिडोर कस्तो हुनुपर्छ भन्ने विषयमा अध्ययन गर्न मन्त्रालयकै प्राविधिक टोली गठन गरिएको पनि जानकारी दिए। उक्त टोलीको अध्ययनपछि करिडोर विकासका लागि एकीकृत अवधारणापत्र तयार गर्ने तयारी रहेको उनले बताए।
एडिबीका राष्ट्रिय निर्देशक कोसवाले मन्त्रालयको विज्ञ तथा प्राविधिक टोलीसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताएका छन्। भेटमा बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा आगामी दिनमा जलवायुजन्य जोखिम न्यूनीकरण गर्दै विद्युत् पूर्वाधार विकास गर्ने विषयमा समेत छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ।










