निर्माण क्षेत्रमा वाणिज्य बैंकको आक्रामक लगानी, वर्षदिनमा २० बैंकले दिए ३६ अर्ब ऋण

९ आश्विन २०८३, शुक्रबार १३:२५

काठमाडौं । वाणिज्य बैंकहरूले निर्माण क्षेत्रमा गर्ने कर्जा लगानीमा उल्लेख्य वृद्धि गरेका छन्। चालु आर्थिक वर्ष २०८३/८४ को साउन मसान्तसम्म २० वाणिज्य बैंकले निर्माण क्षेत्रमा कुल २ खर्ब ४१ अर्ब ३२ करोड ५४ लाख रुपैयाँ कर्जा लगानी गरेका छन्। अघिल्लो आर्थिक वर्ष २०८२/८३ को साउन मसान्तसम्म यस्तो कर्जा लगानी २ खर्ब ५ अर्ब २९ करोड ८७ लाख रुपैयाँ रहेकोमा एक वर्षको अवधिमा ३६ अर्ब २ करोड ६६ लाख रुपैयाँ अर्थात् १७.५५ प्रतिशतले वृद्धि भएको हो।

निर्माण क्षेत्रमा सबैभन्दा बढी कर्जा लगानी गर्ने बैंकमा नबिल बैंक अगाडि रहेको छ। बैंकले साउन मसान्तसम्म निर्माण क्षेत्रमा २७ अर्ब ६८ करोड २० लाख ७० हजार रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा नबिलको यस्तो लगानी २४ अर्ब ६९ करोड ८२ लाख १० हजार रुपैयाँ रहेको थियो। एक वर्षमा बैंकको निर्माण क्षेत्रको कर्जा २ अर्ब ९८ करोड ३८ लाख ६० हजार रुपैयाँ अर्थात् १२.८ प्रतिशतले बढेको छ।

निर्माण क्षेत्रमा बढी कर्जा लगानी गर्ने बैंकको सूचीमा लक्ष्मी सनराइज बैंक दोस्रो स्थानमा रहेको छ। बैंकले साउन मसान्तसम्म २६ अर्ब ७ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यस्तो लगानी २० अर्ब ५५ करोड ६८ लाख १० हजार रुपैयाँ रहेकोमा एक वर्षमा ५ अर्ब ५१ करोड ४५ लाख ४० हजार रुपैयाँ अर्थात् २६ दशमलव ८३ प्रतिशतले वृद्धि भएको हो।

तेस्रो स्थानमा रहेको सिटिजन्स बैंकले निर्माण क्षेत्रमा २० अर्ब ७९ करोड ८९ लाख ७० हजार रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष १६ अर्ब २३ करोड १६ लाख १० हजार रुपैयाँ रहेको यस्तो कर्जा एक वर्षमा ४ अर्ब ५६ करोड ७३ लाख ६० हजार रुपैयाँ अर्थात् २८.१४ प्रतिशतले बढेको छ।

एनआइसी एशिया बैंकले निर्माण क्षेत्रमा २० अर्ब १९ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकको यस्तो लगानी २१ अर्ब ७२ करोड ३० लाख १० हजार रुपैयाँ रहेको थियो। यस वर्ष बैंकको निर्माण क्षेत्रको कर्जा १ अर्ब ५३ करोड ११ लाख १० हजार रुपैयाँ अर्थात् ७.५ प्रतिशतले घटेको छ।

कृषि विकास बैंकले निर्माण क्षेत्रमा २० अर्ब ९ करोड ३५ लाख ४० हजार रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष १२ अर्ब ४१ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको यस्तो कर्जा एक वर्षमा ७ अर्ब ६७ करोड ५१ लाख रुपैयाँ अर्थात् ६१.८ प्रतिशतले बढेको हो। प्रतिशतका आधारमा निर्माण क्षेत्रमा कर्जा विस्तार गर्ने ठूला बैंकमध्ये कृषि विकास बैंकको वृद्धि उल्लेख्य देखिएको छ।

निर्माण क्षेत्रमा सबैभन्दा कम कर्जा लगानी गर्ने बैंक नेपाल एसबिआई बैंक रहेको छ। बैंकले साउन मसान्तसम्म ९५ करोड ३१ लाख ५० हजार रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष ९२ करोड ६ लाख रुपैयाँ रहेको यस्तो कर्जा ३ करोड २५ लाख ५० हजार रुपैयाँ अर्थात् ३.५४ प्रतिशतले बढेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*