एनआईसी एसिया बैंकका डेपुटी सीईओसहित ६ वरिष्ठ कर्मचारी भीआरएसमार्फत बाहिरिँदै

काठमाडौं । एनआईसी एसिया बैंकका उच्च व्यवस्थापनसहित विभिन्न तहमा कार्यरत ६ जना वरिष्ठ कर्मचारी स्वेच्छिक अवकाश योजनामार्फत बैंकबाट बाहिरिने भएका छन्।
बैंकले अघि सारेको स्वेच्छिक अवकाश योजना (भीआरएस) मा सहभागी हुन कर्मचारीहरूले दिएको आवेदन स्वीकृत भएसँगै उनीहरूको बैंकसँगको औपचारिक सम्बन्ध अन्त्य हुने भएको हो। भीआरएस रोज्नेमा डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सन्तोषकुमार राठी, असिस्टेन्ट सीईओ अर्जुन राज खनिया, सिनियर म्यानेजर कैलाश गौतम, डेपुटी म्यानेजर मनोज अधिकारी, सुनिल मानन्धर र असिस्टेन्ट म्यानेजर देवेन्द्र भट्ट रहेका छन्।
बैंकका अनुसार उनीहरू आगामी असोज १५ गतेदेखि बैंकको नियमित जिम्मेवारीमा रहने छैनन्।
भीआरएसअन्तर्गत अवकाश लिने कर्मचारीलाई आर्थिक रूपमा आकर्षक प्याकेजसमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ। उनीहरूले दसैँ बोनससहित हाल प्राप्त गर्दै आएको तलब तथा सुविधालाई आधार मानेर करिब १६ महिनासम्मको रकम बराबरको सुविधा पाउनेछन्।










