निफ्राको साधारणसभा असोज २३ गते बस्दै, ५.२६ प्रतिशत लाभांश पारित गरिने

१२ आश्विन २०८३, सोमबार ०८:२८

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडले आफ्नो आठौं वार्षिक साधारण सभा असोज २३ गते बस्दैछ। बैंकको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा बस्ने मिति तथा स्थान तय गरेको हो।

साधारण सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ९ बजे सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण पारित गर्ने प्रस्तावमाथि छलफल हुनेछ।

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्ने प्रस्तावसमेत पारित गर्नेछ। यसअघि लगातार तीन वर्ष बैंकको लेखापरीक्षण गरिसकेका बीआरएस न्यौपाने एन्ड कम्पनी, चार्टर्ड अकाउन्टेन्ट्सलाई भने पुनः लेखापरीक्षक नियुक्त गर्न नमिल्ने बैंकले जनाएको छ।

यस्तै बैंकले चुक्ता पुँजीको ५.२६३२ प्रतिशत अर्थात् १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २ सय रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लाभांशमा लाग्ने करसमेत उक्त रकममा समावेश छ। साधारण सभाबाट प्रस्ताव स्वीकृत भएपछि अर्थ मन्त्रालयको स्वीकृति प्राप्त गरी लाभांश वितरण गरिनेछ।

सभामा सर्वसाधारण शेयरधनी समूहबाट निर्वाचित सञ्चालक लिमा अधिकारी आचार्यले राजीनामा दिएपछि उनको स्थानमा नियुक्त अनिता रायमाझीलाई बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गरिएको निर्णय अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ।

साधारण सभा प्रयोजनका लागि बैंकले असोज १४ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। असोज १३ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम शेयरधनीहरू मात्रै लाभांश प्राप्त गर्न तथा मतदान गर्न योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*