राप्ति हाइड्रोलाई ३० लाख ८१ हजार कित्ता हकप्रद निष्कासन गर्न पूर्वस्वीकृति प्रदान

काठमाडौं । राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ।
रुकुम जिल्लामा रहेको ५ मेगावाट क्षमताको रुकुमगाड जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी राप्ति हाइड्रोले हाल कायम चुक्ता पुँजीको १ः०.२५१४ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको हो। आयोगको गत असोज २ गते बसेको ३२०औँ बैठकले यस्तो निर्णय गरेको हो।
स्वीकृतिअनुसार कम्पनीले ३० करोड ८१ लाख २६ हजार २४५ रुपैयाँ बराबरको ३० लाख ८१ हजार २६२ कित्ता हकप्रद शेयर निष्कासन गर्न सक्नेछ। कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ रहेको छ।
कम्पनीले यसअघि चुक्ता पुँजीको १ः०.४६६१ अनुपातमा ५७ करोड १३ लाख ३ हजार ४८६ रुपैयाँ बराबरको ५७ लाख १३ हजार ३४.८६ कित्ता हकप्रद शेयर निष्कासनका लागि आयोगमा निवेदन दिएको थियो।
हकप्रद शेयरबाट प्राप्त रकममध्ये ३० करोड ८१ लाख २६ हजार २४५ रुपैयाँ ३४ पैसा कन्सोर्टियम बैंकको ऋण तिर्न र २६ करोड ३१ लाख ७७ हजार २४० रुपैयाँ ६६ पैसा प्रवद्र्धक कम्पनी इन्स्पायर क्लिन इनर्जी लिमिटेडको ऋण चुक्ता गर्न प्रयोग गर्ने प्रस्ताव गरिएको थियो।
तर प्रवद्र्धक कम्पनीसँगको ऋण चुक्ता गर्ने प्रयोजनका लागि हकप्रद शेयर निष्कासनको पूर्वस्वीकृति दिने अभ्यास आयोगमा नरहेको भन्दै आयोगले हाल कम्पनीको अद्यावधिक बैंक कर्जा तिर्न आवश्यक रकम बराबरको हकप्रद शेयरका लागि मात्र स्वीकृति दिएको हो।
प्राइम बैंक र लक्ष्मी कुमारी बैंकबाट प्राप्त विवरणअनुसार कम्पनीको कुल कर्जा बक्यौता ३४ करोड ९८ लाख ४१ हजार ३७४ रुपैयाँ २० पैसा रहेको आयोगले जनाएको छ। आयोगले विद्युत्सम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्काशनको पूर्वस्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका, २०७८ को दफा ७ र ९ बमोजिम विभिन्न शर्तसहित हकप्रद शेयर निष्कासनको पूर्वस्वीकृति दिएको हो।










