‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड’मा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्कासन गरेको ‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड’ का इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। क्यापिटलका अनुसार फन्डमा लगानी गर्न इच्छुक लगानीकर्ताले आज बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन्।
क्यापिटलले आवेदन दिने अवधि थप नगरिने जनाएको छ। त्यसैले आज बैंकिङ समय समाप्त भएपछि फन्डको इकाइ खरिदका लागि आवेदन प्रक्रिया बन्द हुनेछ।
क्यापिटलका अनुसार सोमबार साँझ ५ बजेसम्म ८० करोड रुपैयाँभन्दा बढी रकम बराबरको इकाइ खरिदका लागि आवेदन परिसकेको छ। फन्डका लागि माग प्रारम्भिक निष्कासन रकमभन्दा बढी भए पनि स्वीकृत विवरणपत्रअनुसार फन्डको आकार बढाउन सकिने व्यवस्था गरिएको छ।
एनआईसी एशिया क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाइ निष्कासन गरेको हो। यसअनुसार फन्डको प्रारम्भिक आकार ८० करोड रुपैयाँ रहेको छ। कुल निष्कासित इकाइमध्ये १ करोड २० लाख इकाइ अर्थात् १५ प्रतिशत कोष प्रवर्द्धक एनआईसी एशिया बैंकका लागि सुरक्षित गरिएको छ।
बाँकी ६ करोड ८० लाख इकाइ भने सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ। माग प्रारम्भिक निष्कासन रकमभन्दा बढी भएमा फन्डको आकार अधिकतम १ अर्ब रुपैयाँसम्म कायम गर्न सकिने व्यवस्था विवरणपत्रमा उल्लेख छ।
‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड’ १० वर्ष अवधिको बन्दमुखी म्युचुअल फन्ड हो। क्यापिटलका अनुसार फन्डमार्फत संकलन भएको रकमको अधिकांश हिस्सा दोस्रो बजारमा सूचीकृत कम्पनीका धितोपत्रमा लगानी गरिनेछ।
लगानीकर्ताले फन्डका लागि न्यूनतम १०० इकाइदेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सक्नेछन्। प्रतिइकाइ १० रुपैयाँका आधारमा न्यूनतम आवेदन रकम १ हजार रुपैयाँ हुनेछ भने अधिकतम आवेदन रकम १० करोड रुपैयाँ हुनेछ।











