विराट एग्रीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

१३ आश्विन २०८३, मंगलवार १२:२०

काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेड र विराट एग्री लिमिटेडबीच सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले विराट एग्रीलाई भविष्यमा प्रचलित कानुनबमोजिम सर्वसाधारणमा प्राथमिक शेयर निष्कासन गर्न आवश्यक पर्ने संस्थागत परामर्शसहितका सम्पूर्ण सेवा उपलब्ध गराउनेछ।

एनआईसी एशिया क्यापिटलले आफ्नो ‘विचारदेखि प्राथमिक शेयर निष्कासनसम्म’ सेवाअन्तर्गत विभिन्न क्षेत्रका कम्पनीलाई स्थापना कालदेखि प्राथमिक शेयर निष्कासन गर्ने चरणसम्म आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। सोही सेवाअन्तर्गत इटहरी–१३, सुनसरीमा कारोबार कार्यालय रहेको विराट एग्रीसँग उक्त सम्झौता गरिएको हो।

नेपालको कृषि तथा जलचरपालन क्षेत्रलाई व्यावसायिक, आधुनिक तथा दिगो ढाँचामा विकास गर्ने उद्देश्यले स्थापना भएको विराट एग्रीले मोरङ र सुनसरी जिल्लामा एक सय हेक्टरभन्दा बढी जलाशय क्षेत्रमा करिब एक सय ५० वटा पोखरीमार्फत व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन गर्दै आएको छ। कम्पनीले आफूलाई देशका ठूला तथा व्यवस्थित व्यावसायिक मत्स्य फार्ममध्ये एकका रूपमा अघि बढाइरहेको जनाएको छ।

कम्पनीले इटहरी–१३, खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमताको आधुनिक माछाको दाना कारखाना सञ्चालन गर्दै आएको छ। उक्त कारखानाबाट आफ्ना परियोजना तथा बजारका लागि विभिन्न प्रकारका तैरिने तथा डुब्ने माछाका दाना उत्पादन तथा बिक्री वितरण हुँदै आएको कम्पनीले जनाएको छ।

कृषि तथा मत्स्यपालन क्षेत्रको सम्पूर्ण मूल्य शृङ्खलालाई एकीकृत गर्दै उत्पादन, प्रशोधन, प्याकेजिङ तथा बजारीकरणलाई थप व्यवस्थित र व्यावसायिक बनाउने दीर्घकालीन योजनाअनुरूप कम्पनीले प्रस्तावित सार्वजनिक शेयर निष्कासनबाट प्राप्त पूँजी उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधि तथा व्यावसायिक पूर्वाधार विकासमा परिचालन गर्ने लक्ष्य लिएको छ।

विराट एग्रीले आधुनिक प्रविधिबाट पाङ्गास माछा प्रशोधन गरी फिलेट तथा अन्य मूल्य अभिवृद्धि भएका माछाजन्य उत्पादनको उत्पादन, प्याकेजिङ तथा बजारीकरण गर्ने प्रशोधन कारखाना स्थापना गर्ने योजना अघि बढाएको छ। साथै, हाल सञ्चालनमा रहेको तैरिने माछाको दाना कारखानाका अतिरिक्त माछा तथा पशुपन्छीका लागि आवश्यक पोषणयुक्त दाना उत्पादन गर्न दैनिक १० टन क्षमताको आधुनिक दाना कारखाना स्थापना गर्ने लक्ष्य लिएको छ।

आगामी दिनमा यी पूर्वाधारको विकाससँगै उत्पादनदेखि प्रशोधन, प्याकेजिङ तथा बजारीकरणसम्मको सम्पूर्ण प्रक्रियालाई एकीकृत प्रणालीमा जोड्ने कम्पनीको योजना छ। आफ्नै फार्ममा माछा उत्पादन, माछाको दाना उत्पादन, आधुनिक प्रशोधन तथा फिलेटिङ, शीत भण्डारण, प्याकेजिङ र बजार व्यवस्थापनलाई एउटै व्यावसायिक चक्रमा जोड्ने योजना कम्पनीले अघि सारेको छ।

कम्पनीका अनुसार यस विस्तार योजनाले नेपालको कृषि तथा जलचरपालन क्षेत्रमा मूल्य अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, रोजगारी सिर्जना तथा आयात प्रतिस्थापनमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*