नियामकका सकारात्मक कदम फेलः थप सुस्त हुँदै पुँजी बजार, मार्केट किन गिरावट ?

काठमाडौँ । शेयर बजारमा नीतिगत सुधारका कदम अघि बढे पनि त्यसको प्रभाव कारोबार र नेप्से सूचकमा स्पष्ट रूपमा देखिन सकेको छैन । पछिल्ला दिनमा बजारमा बिक्रीको दबाब बढ्दा सूचकसँगै कारोबार रकममा समेत कमजोरी देखिएको छ । सरकारले वित्तीय क्षेत्र सुधारका लागि अघि सारेको २१ बुँदे राहत तथा सुधार प्याकेज, पुँजीगत लाभकरमा गरिएको कटौती तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आशंका न्यूनीकरणका प्रयासले लगानीकर्तामा सकारात्मक अपेक्षा जगाए पनि त्यसले तत्काल बजारको माग बढाउन सकेको छैन ।
नेपाल राष्ट्र बैंकले शेयर बजारसँग सम्बन्धित विभिन्न व्यवस्थामा लचकता अपनाउनुका साथै नेपाल धितोपत्र बोर्डले पनि बजार सुधारका लागि पहल अघि बढाइरहेको छ। नियामकीय तहबाट सकारात्मक वातावरण निर्माण गर्ने प्रयास भए पनि लगानीकर्ताको विश्वासमा त्यसअनुसारको सुधार आउन बाँकी रहेको देखिन्छ। बजारमा लामो समयदेखि कायम दबाबका कारण केही कम्पनीको शेयरमूल्य तुलनात्मक रूपमा न्यून तहमा पुगेकाले लगानीको अवसर देख्नेहरू भए पनि नयाँ माग सिर्जना हुन नसक्दा त्यसको प्रभाव सूचकमा पर्न सकेको छैन ।
यसैबीच सूचीकृत कम्पनीहरूले अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै लाभांश घोषणा गर्न थालेका छन्। सामान्यतया लाभांश सिजनले बजारमा लगानीकर्ताको आकर्षण बढाउने गरे पनि यसपटक त्यसको प्रभाव अपेक्षाकृत कमजोर देखिएको छ। कम्पनीको वित्तीय अवस्था र सम्भावित प्रतिफललाई आधार बनाएर लगानी गर्ने समय भए पनि समग्र बजारप्रतिको अनिश्चितताले लगानीकर्तालाई थप सक्रिय हुनबाट रोकिरहेको बजार सहभागीहरूको बुझाइ छ। विशेषगरी ठूला लगानीकर्ताको लगानी स्रोत तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा देखिएको चासोले ठूलो रकम परिचालन गर्ने वर्गमा केही हदसम्म सतर्कता बढाएको बताइएको छ।
त्यसैगरी दशैं नजिकिँदै गर्दा बजारमा नगद व्यवस्थापनका लागि शेयर बिक्री गर्ने प्रवृत्तिले समेत आपूर्ति बढाएको देखिन्छ। चाडपर्वका खर्च जुटाउन केही लगानीकर्ता शेयर बिक्रीतर्फ लाग्दा खरिद पक्ष कमजोर बन्न पुगेको बजार सहभागीहरूको भनाइ छ। ठूला लगानीकर्ताको सक्रियता न्यून रहँदा साना तथा मध्यम लगानीकर्ताको सहभागिताले मात्र बजारमा पर्याप्त माग धान्न कठिन भइरहेको छ। यसले नीतिगत सुधार, लाभांशको समय र केही कम्पनीको घटेको मूल्यबीच पनि तत्कालै बजारमा बलियो सुधार आउन चुनौती कायम रहेको संकेत गरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६२ अकंले घटेर २६०३.७१ बिन्दुमा कायम भएको छ । आज ३६३ कम्पनीको १ करोड १० लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६५ करोड ४८ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ११ उपसूचक राताम्य भएका छन् । आज निर्जीवन बीमा समूहको ०.११ प्रतिशत र अन्य समूहको शेयर मूल्य ०.१२ प्रतिशतले शेयर मूल्य बढेको छ ।
मंगलबार ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९९ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।












