हाथवे इन्भेष्टमेन्टको नाममा १५ लाख कित्ता शेयर बिक्रीको ‘फर्जी पत्र’, कम्पनीले खोल्यो पोल

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो नाम, लेटरहेड, छाप तथा कम्पनी सचिवको हस्ताक्षर दुरुपयोग गरी सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा प्रसारित शेयर बिक्रीसम्बन्धी पत्र नक्कली भएको स्पष्ट पारेको छ ।
कम्पनीका अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई सम्बोधन गरिएको, चलानी नम्बर ३५/८३/८४ र मिति २०८३/०६/११ उल्लेख भएको ‘शेयर बिक्री गर्ने सम्बन्धमा’ शीर्षकको पत्र सामाजिक सञ्जालमा प्रसारित भएको थियो । उक्त पत्रमा कम्पनीका शेयरधनी अम्बिकाप्रसाद पौडेलले आगामी तीन महिनाभित्र १५ लाख कित्ता शेयर बिक्री गर्ने मनसायबारे कम्पनीलाई जानकारी गराएको उल्लेख गरिएको थियो ।
तर, कम्पनीले त्यस्तो कुनै पत्र जारी नगरेको जनाएको छ । पत्रमा प्रयोग गरिएको लेटरहेड, चलानी नम्बर, छाप तथा कम्पनी सचिवको हस्ताक्षर कम्पनीको जानकारी र स्वीकृतिबिना जालसाजीपूर्वक तयार पारेर दुरुपयोग गरिएको कम्पनीको भनाइ छ ।
हाथवे इन्भेष्टमेन्टका अनुसार उक्त विज्ञप्ति जारी हुँदासम्म अम्बिकाप्रसाद पौडेलबाट शेयर बिक्री गर्ने मनसायसहित कुनै निवेदन, सूचना वा जानकारी कम्पनीमा प्राप्त भएको छैन ।

नेपाल धितोपत्र बोर्डले २०८३ भदौ ९ गते जारी गरेको निर्देशनअनुसार सूचीकृत कम्पनीका आधारभूत शेयरधनीले आफूले धारण गरेको शेयरको ५ प्रतिशतभन्दा बढी शेयर बिक्री गर्नुपर्ने भए कम्तीमा १५ दिनअघि कम्पनीलाई लिखित जानकारी दिनुपर्ने व्यवस्था छ । त्यस्तो जानकारी प्राप्त भएपछि कम्पनीले नेप्सेमार्फत सार्वजनिक गर्नुपर्ने र उक्त जानकारीको मान्य अवधि तीन महिना रहने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले वास्तविक रूपमा शेयर बिक्रीसम्बन्धी कुनै जानकारी प्राप्त भएमा त्यसलाई नेप्सेको आधिकारिक सूचना प्रणाली र आफ्नो वेबसाइटमार्फत मात्र सार्वजनिक गर्ने स्पष्ट पारेको छ । यीबाहेक अन्य माध्यमबाट प्रकाशित सामग्रीलाई अप्रमाणित मान्न पनि कम्पनीले शेयरधनी तथा लगानीकर्तालाई आग्रह गरेको छ ।
नक्कली पत्रमार्फत सर्वसाधारण शेयरधनीलाई भ्रममा पार्ने, कम्पनीको शेयर कारोबारमा अस्वाभाविक प्रभाव पार्ने तथा कम्पनी, शेयरधनी र पदाधिकारीको प्रतिष्ठामा आँच पुर्याउने प्रयास भएको भन्दै हाथवेले घटनाको कडा भर्त्सना गरेको छ ।
कम्पनीले यस विषयमा नेपाल धितोपत्र बोर्ड र नेप्सेमा लिखित उजुरी दिने प्रक्रिया अघि बढाएको जनाएको छ । नक्कली पत्र तयार पार्ने तथा प्रसार गर्ने व्यक्ति वा समूहसँगै जानीजानी त्यसलाई पुनः प्रकाशन वा प्रसारण गर्ने पक्षविरुद्ध धितोपत्रसम्बन्धी ऐन, २०६३, विद्युतीय कारोबार ऐन, २०६३ तथा मुलुकी अपराध संहिता, २०७४ बमोजिम कानुनी उपचार खोजिने कम्पनीले जनाएको छ ।
साथै, कम्पनीले आफ्ना सूचना प्रकाशन गर्नुअघि कम्पनी सचिवालयबाट यकिन गर्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गरेको छ । यसअघि प्रकाशित नक्कली पत्र हटाई कम्पनीको यो स्पष्टीकरणलाई समान प्राथमिकताका साथ प्रकाशन गर्न पनि उसले अनुरोध गरेको छ ।











