हालसम्म कुन-कुन कम्पनीको भयो साधारणसभा ?

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुको एजीएमको सिजन सुरु भएको छ। चालु आर्थिक वर्षको साढे दुई महिना वितिसक्दा विभिन्न क्षेत्रका सूचीकृत कम्पनीहरूले वार्षिक साधारण सभा बोलाएका छन्।
नेप्सेमा सूचीकृत भएका बैंक, विकास बैंक, वित्त कम्पनी, जलविद्युत् तथा लघुवित्त कम्पनीले साधारण सभा बोलाएका हुन्। सभामा वित्तीय विवरण पारित गर्ने, लाभांश वितरण गर्ने र पुँजी वृद्धि गर्ने प्रस्तावहरु रहेका छन् ।
वाणिज्य बैंकतर्फ एभरेस्ट बैंकले ३२ औ वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ। बैंकले पाँच प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पुँजी वृद्धि तथा प्रबन्धपत्र र नियमावली संशोधनका प्रस्ताव समेत सभाबाट पारित गराएको हो।
सानिमा बैंक लिमिटेडले २२औँ वार्षिक साधारण सभा गरेको छ। बैंकले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सानिमा क्यापिटल र सानिमा सेक्युरिटिजको एकीकृत प्रतिवेदन सभाले पारित गरेको छ।
विकास बैंक तथा वित्त कम्पनीतर्फ कामना सेवा विकास बैंकले २० औ वार्षिक साधारण सभा गरिसकेको छ। भदौ ३१ गते बुधबार भएको बैंकको साधारणले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव परित गरेको हो। अग्राधिकार शेयर पुँजीमा ९ प्रतिशत नगद लाभांश दिने एजेन्डा पास गरेको छ।
आइसीएफसी फाइनान्सले असोज १३ गते २३ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। फाइनान्सको सभामा १०।५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ। वित्तीय विवरण पारित गर्ने तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ।
दोस्रो बजारमा सूचीकृत भएका केहि जलविद्युत् क्षेत्रका कम्पनीहरूले पनि साधारण सभा गरेका छन् । सुपर मादी हाइड्रोपावर लिमिटेडले असोज १ गते बिहीबार १७ औ वार्षिक साधारण सभा सम्पन्न गरेकोछ। सभामा १५ प्रतिशत बोनस शेयर र ०।७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। २८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत् आयोजना निर्माणका लागि दुई बराबर एकको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गर्दै सभा बोलाएको थियो। अधिकृत पुँजी वृद्धि गर्ने प्रस्तावसमेत सभामा राखिएको छ।
केवेली हाइड्रोपावर कम्पनी लिमिटेडले पाँचौँ वार्षिक साधारण सभा बोलाएको थियो। सभामा १६।३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। एनएमबी बैंकबाट आईपीओ धितो राखी लिएको कर्जा स्वीकृत गर्ने प्रस्ताव पनि पारित गरेको छ। अन्य कम्पनी वा जलविद्युत् आयोजनामा शेयर लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाले अनुमोदन गरेको छ।
माण्डू हाइड्रोपावर लिमिटेडले १४औ र १५औँ संयुक्त वार्षिक साधारण सभा बोलाएको थियो। सभामा १२ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने प्रस्ताव अनुमोदन गरेको छ। सञ्चालकको निर्वाचन र स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि थियो। कम्पनीको पुँजी वृद्धि गर्ने प्रस्तावसमेत सभाले पास गरेको छ।
मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र सानिमा हाइड्रोपावर लिमिटेडले पनि वार्षिक साधारण सभा सम्पन्न गरिसकेका छन्। मनकामना इन्जिनियरिङको सभाले वित्तीय प्रतिवेदन तथा प्रबन्धपत्र र नियमावली संशोधनका प्रस्ताव पारित गरेको छ। सानिमा हाइड्रोपावरको सभामा वित्तीय विवरण र सञ्चालक निर्वाचन मुख्य विषय थिए।
लघुवित्त क्षेत्रमा भने मर्जर प्रक्रिया अघि बढेको छ। जीवन विकास लघुवित्त, मानुषी लघुवित्त र युनिक नेपाल लघुवित्तले भदौ १४ गते एकै दिन विशेष साधारण सभा सम्पन्न गरेका छन्। सभाको मुख्य विषय तीन संस्थालाई आपसमा गाभ्ने(गाभिने प्रस्ताव थियो। सम्पत्ति तथा दायित्वको मूल्याङ्कन सम्बन्धी प्रतिवेदन र शेयर स्वाप रेसियो अनुमोदन गर्ने प्रस्ताव पनि सभामा राखिएको थियो।
साधारण सभाका एजेन्डाले कम्पनीहरूले लाभांश वितरणसँगै पुँजी विस्तार, हकप्रद शेयर, संस्थागत संरचना र मर्जर प्रक्रियालाई पनि अघि बढाइरहेका छन् । बैंक तथा वित्तीय संस्थामा लाभांश र सञ्चालक निर्वाचन प्रमुख छन्। जलविद्युत् कम्पनीमा पुँजी जुटाउने र आयोजना विस्तारका प्रस्ताव छन्। लघुवित्तमा भने मर्जर प्रक्रिया मुख्य विषय बनाएको छ।











