कामना सेवा विकास बैंकको रेटिङ बढ्यो, ‘त्रिपल बी माइनस’मा उक्लियो

१६ आश्विन २०८३, शुक्रबार ११:४०

काठमाडौँ ।  कामना सेवा विकास बैंक लिमिटेडको इस्यूअर रेटिङ बढेको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले बैंकको जारीकर्ता मूल्यांकनलाई यसअघि रहेको ‘केयर–एनपी बीबी प्लस’ बाट बढाएर ‘केयर–एनपी बीबीबी माइनस’ कायम गरेको हो। नयाँ मूल्यांकनले बैंकले वित्तीय दायित्व समयमै पूरा गर्ने विषयमा मध्यम स्तरको सुरक्षा प्रदान गर्ने र बैंकमा मध्यम कर्जा जोखिम रहेको संकेत गर्छ।

केयर रेटिङ्स नेपालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंकको समग्र कर्जा प्रोफाइल बलियो बन्दै गएको छ। विशेषगरी पुँजीकरण तथा भुक्तानी क्षमता, आम्दानीको गुणस्तर र वित्तीय स्रोतको संरचनामा सुधार आएको छ। त्यस्तै, समग्र बैंकिङ क्षेत्रको तुलनामा बैंकको सम्पत्ति गुणस्तरसमेत तुलनात्मक रूपमा सुदृढ रहेको देखिएको छ।

घट्दो ब्याजदरका कारण बैंकिङ क्षेत्रमा कर्जाबाट प्राप्त हुने आम्दानीमा दबाब परेको अवस्थामा समेत कामना सेवा विकास बैंकले आफ्नो वित्तीय संरचनालाई प्रभावकारी रूपमा व्यवस्थापन गरेको र यसबाट ब्याजदर घट्दाको प्रभावलाई केही हदसम्म न्यूनीकरण गर्न सफल भएको मूल्यांकन गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा बैंकको आन्तरिक पुँजी निर्माण क्षमता थप बलियो बनेको छ भने अतिरिक्त प्राथमिक पुँजीसमेत जारी भएकाले आगामी दिनमा व्यवसाय विस्तार तथा सम्भावित वित्तीय दबाब सामना गर्न आवश्यक आधार तयार भएको रेटिङ संस्थाले जनाएको छ।

बैंकको नाफा सूचकसमेत स्वस्थ अवस्थामा रहेको छ। आम्दानीमा केही संकुचन आए पनि कम लागतका निक्षेपतर्फ बैंकले गरेको निर्णायक रूपान्तरणका कारण वित्तीय स्रोतको लागत घटेको छ। यसले कर्जाको प्रतिफलमा आएको दबाबलाई सन्तुलन गर्न सहयोग पुर्‍याएको छ। फलस्वरूप बैंकको खुद ब्याज आम्दानीको अन्तर तुलनात्मक रूपमा स्थिर रहन सफल भएको छ। साथै, कर्जा जोखिमका लागि छुट्याउनुपर्ने खर्चमा कमी तथा ब्याजबाहेकका आम्दानीमा वृद्धि हुँदा बैंकको प्रतिफल अघिल्ला अवधिको तुलनामा सुधारिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*