स्वीकृत कर्जा नदिएको आरोपमा सनराइज बैंकका पूर्वसिईओसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं । अंजली इन्टरनेशनललाई स्वीकृत भएको थप कर्जा रकम उपलब्ध नगराएको आरोपमा तत्कालीन सनराइज बैंकका सीईओ सुमन शर्मासहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी अभियोगपत्र दायर भएको छ।
अभियोगपत्रमा तत्कालीन सीईओ शर्मासहित नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र प्रमुख कर्जा प्रशासनमा कार्यरत नायब प्रबन्धक रवीन्द्र केसीलाई प्रतिवादी बनाइएको छ। चारै जना हाल फरार रहेको उल्लेख गर्दै म्याद पुर्जी जारी गर्न माग गरिएको छ।
अभियोगपत्रअनुसार अंजली इन्टरनेशनलका लागि २०८० वैशाख ५ गते ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ थप कर्जा स्वीकृत भएको थियो। त्यसका लागि ८९ लाख रुपैयाँ बराबरको थप सुरक्षणस्वरूप सुनिल कुमार साह तेलीको नाममा रहेको बाराको अमावस्थित जग्गा बैंकको पक्षमा धितोबन्धक गरिएको थियो।
तर धितोबन्धक गरेपछि पनि स्वीकृत कर्जा रकम उपलब्ध नगराएको जाहेरवालीको दाबी छ। बैंकका अधिकारीहरूले रकम उपलब्ध गराउने आश्वासन दिए पनि रकम नआएको भन्दै जाहेरी परेको थियो।
सरकारी वकिलले बैंकले प्रहरीलाई पठाएको पत्रमा उक्त जग्गा बैंकको पक्षमा ८९ लाख रुपैयाँ बराबरको धितोबन्धक गरिएको उल्लेख भएको तथ्यलाई समेत प्रमाणका रूपमा प्रस्तुत गरेको छ।
सरकारी वकिलले प्रतिवादीहरूबाट ८९ लाख रुपैयाँ बिगो तथा क्षतिपूर्ति भराउन माग गरेको छ।
यद्यपि, धितोबन्धक गरिएको तथ्यका आधारमा स्वीकृत कर्जा अनिवार्य रूपमा प्रवाह गर्नुपर्ने अवस्था थियो वा थिएन, कर्जा स्वीकृतिका शर्त के थिए र प्रतिवादीहरूको आपराधिक बदनियत थियो वा थिएन भन्ने विषय अदालतको प्रमाण परीक्षणबाट टुंगो लाग्नेछ।
मुद्दाले कर्जा स्वीकृति तथा प्रवाहजस्ता बैंकिङ निर्णयमा संलग्न अधिकारीको व्यावसायिक निर्णय र व्यक्तिगत फौजदारी दायित्वबीचको सीमाबारे पनि प्रश्न उठाएको छ।











