क्यापिटल म्याक्सको ‘स्मार्ट मार्जिन ट्रेडिङ’ सुविधा, ७.९९% ब्याजदरमा ५ करोडसम्म सीमा

काठमाडौं । क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड ९ब्रोकर नम्बर ६२० ले ग्राहकलाई थप लगानी क्षमता र सहज वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्यले ‘स्मार्ट मार्जिन ट्रेडिङ सुविधा’ सञ्चालनमा ल्याउने भएको छ ।
कम्पनीका अनुसार यस सुविधामार्फत ग्राहकले आफ्नो उपलब्ध पूँजीको प्रभावकारी उपयोग गर्दै स्वीकृत सीमाभित्र थप लगानी गर्न सक्नेछन् । मार्जिन ट्रेडिङलाई अतिरिक्त खरिद क्षमता उपलब्ध गराउने मात्र नभई तरलता व्यवस्थापन गर्दै बजारका अवसरमा सहभागी हुन सहयोग गर्ने वित्तीय सुविधाका रूपमा अघि बढाइएको कम्पनीले जनाएको छ ।
क्यापिटल म्याक्सको स्मार्ट मार्जिन ट्रेडिङ सुविधामा वार्षिक ७.९९ प्रतिशत ब्याजदर कायम गरिएको छ । ग्राहकले स्वीकृत सीमाभित्र आवश्यकताअनुसार वित्तीय सुविधा उपयोग गर्न सक्नेछन् ।
कम्पनीका अनुसार मार्जिन ट्रेडिङका लागि न्यूनतम १० लाख रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँसम्मको वित्तीय सीमा तोकिएको छ । ग्राहकले न्यूनतम ३० प्रतिशत मार्जिन राख्नुपर्नेछ भने ब्रोकर कम्पनीबाट अधिकतम ७० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध हुनेछ ।
यस सुविधाको अवधि १ देखि ३ महिनासम्म रहनेछ भने सेवा शुल्क ०।२५ प्रतिशत तोकिएको कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार ग्राहकले आफ्नो उपलब्ध इक्विटीका आधारमा थप लगानी क्षमता प्राप्त गर्न सक्नेछन् । साथै, स्वीकृत गरिएको सम्पूर्ण सीमामा नभई वास्तवमा प्रयोग गरिएको रकममा मात्र ब्याज लाग्ने व्यवस्था गरिएको छ ।
मार्जिन ट्रेडिङ सुविधा सरल तथा व्यवस्थित प्रक्रियामार्फत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
क्यापिटल म्याक्सले मार्जिन ट्रेडिङ सुविधा प्रचलित नियम, नियामकीय व्यवस्था, स्वीकृत सीमा तथा कम्पनीका सम्बन्धित सर्तअनुसार सञ्चालन हुने स्पष्ट पारेको छ ।
कम्पनीले मार्जिन ट्रेडिङमा बजार जोखिम रहने भएकाले लगानीकर्ताले आफ्नो जोखिम वहन क्षमता र लगानी उद्देश्यलाई ध्यानमा राखेर निर्णय गर्नुपर्ने जनाएको छ ।











