नेपाल इन्स्योरेन्सको नोक्सानी २० करोड नाघ्यो, कस्ता छन् अन्य वित्तीय सूचक?

३० कार्तिक २०८३, सोमबार ०७:५९

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा थप दबाब परेको छ। बाढीपहिरोलगायत प्राकृतिक विपत्तिका कारण बीमा दाबी भुक्तानी बढ्दा कम्पनीको नोक्सानी २० करोड रुपैयाँ नाघेको हो ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १८ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २० करोड ७९ लाख रुपैयाँ रहेको थियो। यसअनुसार कम्पनीको बीमाशुल्क आम्दानीमा १२.२३ प्रतिशतको गिरावट आएको हो । कम्पनीको बीमालेख संख्यामा भने उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४८ हजार ३३४ वटा बीमालेख जारी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ५६ हजार ५५१ वटा बीमालेख जारी गरेको छ ।

यद्यपि कम्पनीले यस अवधिमा ठूलो नोक्सानी व्यहोरेको छ। हालै भोटेकोशी नदीमा आएको बाढी तथा देशका विभिन्न स्थानमा परेको भारी वर्षा र पहिरोका कारण बीमितका भौतिक संरचना, सवारीसाधन तथा अन्य सम्पत्तिमा क्षति पुगेपछि बीमा दाबीको चाप बढेपछि कम्पनी दबाबमा परेको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड २० लाख रुपैयाँ रहेको खुद दाबी भुक्तानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ४४ करोड ३८ लाख रुपैयाँ पुगेको छ। दाबी भुक्तानीमा भएको वृद्धिले कम्पनीको नाफामा प्रत्यक्ष दबाब पारेको देखिन्छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनी २० करोड ४७ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नोक्सानी ९ करोड ६३ लाख रुपैयाँ थियो। यसरी एक वर्षको अवधिमा कम्पनीको नोक्सानी थप बढेको छ। नोक्सानी बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक ८ रुपैयाँ ३ पैसा कायम भएको छ ।

नाफामा दबाब देखिए पनि कम्पनीको कुल सम्पत्तिमा भने वृद्धि भएको छ। गत आर्थिक वर्षको अन्त्यमा ७ अर्ब ६६ करोड ९० लाख रुपैयाँ रहेको कम्पनीको कुल सम्पत्ति चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बढेर ८ अर्ब ३७ करोड ७० लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ रहेको छ। त्यस्तै प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ र प्रतिशेयर कुल सम्पत्ति ३२८ रुपैयाँ ७० पैसा रहेको छ भने सोल्भेन्सी मार्जिन अनुपात ४.२८ प्रतिशत रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*