आन्दोलन र बाढीको मारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स, कस्तो छ पहिलो त्रैमासको वित्तीय अवस्था ?

काठमाडौँ । निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको वित्तीय अवस्था थप कमजोर देखिएको छ। गत वर्षको जेनजी आन्दोलनले सिर्जना गरेको आर्थिक तथा व्यावसायिक असरबाट अझै पूर्ण रूपमा तङ्ग्रिन नसकेको निर्जीवन बीमा क्षेत्रलाई भदौ १० गते रसुवामा आएको बाढीले थप दबाबमा पारेको देखिन्छ। कम्पनीको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणले पनि बीमा व्यवसायको आम्दानीमा उल्लेख्य गिरावट र खुद नोक्सानीमा वृद्धि भएको देखाएको छ।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार पहिलो त्रैमाससम्म खुद आर्जित बीमाशुल्क २७ करोड ६२ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ६२ करोड ४१ लाख ५१ हजार रुपैयाँ थियो।
कम्पनीको कुल आम्दानी पनि ४५ करोड १० लाख ७२ हजार रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८० करोड ४२ लाख ३० हजार रुपैयाँ कुल आम्दानी गरेको थियो। कुल आम्दानी ४३.९१ प्रतिशतले घटेको छ।

त्यस्तै, लगानी तथा कर्जाबाट हुने आम्दानी ४१ करोड १३ लाख ७० हजारबाट घटेर ३६ करोड २१ लाख २० हजार रुपैयाँमा झरेको छ।
आम्दानी घट्दै जाँदा कम्पनीको नाफामा भने ठूलो धक्का लागेको छ। गत वर्षको पहिलो त्रैमासमा १० करोड ९३ लाख ३७ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनीको नोक्सानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ५७ करोड ३० लाख ९१ हजार रुपैयाँ पुगेको छ।
यता, कम्पनीले भुक्तानी गरेको कुल दाबी रकम भने बढेको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ३२ करोड ९३ लाख ३८ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्षको सोही अवधिमा ५१ करोड ८२ लाख ९७ हजार रुपैयाँ भुक्तानी गरेको छ।











