नेशनल इन्स्योरेन्सको कुल आम्दानी ६६ प्रतिशतले बढ्यो, नाफा भने ७ लाखमा सीमित

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडको कुल आम्दानी र खुद बीमाशुल्क आर्जनमा उल्लेख्य वृद्धि भएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कुल आम्दानी ६६.७६ प्रतिशतले बढेको छ। तर बीमा दाबी भुक्तानी र अन्य खर्च बढ्दा कम्पनीको खुद नाफा भने ७ लाख १ हजार रुपैयाँमा सीमित भएको छ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १९ करोड ९६ लाख ९५ हजार रुपैयाँ कुल आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी ११ करोड ९७ लाख ५३ हजार रुपैयाँ रहेको थियो। यसअनुसार एक वर्षको अवधिमा कम्पनीको आम्दानीमा उल्लेख्य सुधार आएको हो।
त्यस्तै कम्पनीको खुद आर्जित बीमाशुल्कमा पनि वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ४१.७८ प्रतिशतले बढाएर १२ करोड ९५ लाख ९३ हजार रुपैयाँ पुर्याएको छ। कम्पनीको कुल आर्जित बीमाशुल्क भने २२ करोड ११ लाख ९९ हजार रुपैयाँ पुगेको छ।
कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानीमा पनि सुधार देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २४ लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २ करोड १४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै पुनर्बीमा कम्पनीबाट प्राप्त हुने कमिसन आम्दानी ४ करोड ८५ लाख ७५ हजार रुपैयाँ रहेको छ।

आम्दानीमा उल्लेख्य वृद्धि भए पनि कम्पनीको नाफामा भने अपेक्षित सुधार हुन सकेको छैन। यसको मुख्य कारण बीमा दाबी भुक्तानीमा भएको वृद्धि हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ९२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ११ करोड ७६ लाख रुपैयाँ भुक्तानी गरेको छ।
दाबी भुक्तानी र सञ्चालन खर्च बढ्दा कम्पनीको कुल खर्च १९ करोड ८६ लाख ९३ हजार रुपैयाँ पुगेको छ। आम्दानी र खर्चबीचको अन्तर साँघुरिँदा कम्पनीको खुद नाफा ७ लाख रुपैयाँमा सीमित भएको हो। कम्पनीको चुक्ता पुँजी १ अर्ब ७१ करोड ६८ लाख रुपैयाँ रहेको छ भने विशेष जगेडा कोषमा १ अर्ब ४५ करोड ६३ लाख रुपैयाँभन्दा बढी रकम रहेको छ।
कम्पनीको वित्तीय जोखिम बहन गर्न सक्ने क्षमता जनाउने सोल्भेन्सी मार्जिन अनुपातमा पनि सुधार भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १.६७ रहेको यस्तो अनुपात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ४ पुगेको छ। यस अवधिमा कम्पनीले ६ हजार ४०९ वटा बीमालेख जारी गरेको छ भने ४३५ वटा बीमा दाबीको भुक्तानी सम्पन्न गरेको छ।











