लाभांश पारित गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारणसभा

१ मंसिर २०८३, मंगलवार ०९:१३

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई प्रतिकित्ता १६ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको कात्तिक २७ गते बसेको सञ्चालक समितिको ४९५औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाउने निर्णय गरेको हो।

बैंकले लाभांश प्रस्तावसहित विभिन्न विषयमा छलफल र निर्णय गर्न मंसिर २३ गते बुधबार आफ्नो ४०औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे सुरु हुनेछ।

सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेस हुनेछ। त्यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण पनि छलफलपछि पारित गरिनेछ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार प्रतिशेयर १६ रुपैयाँ (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्तावलाई स्वीकृति दिनेछ। यसका साथै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

त्यस्तै सर्वसाधारण शेयरधनीको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचनसमेत सभाको कार्यसूचीमा राखिएको छ।

बैंकले साधारण सभा तथा नगद लाभांश वितरण प्रयोजनका लागि मंसिर १० गते शेयर दाखिल खारेज (बुक क्लोज) गर्ने जनाएको छ। यसअनुसार मंसिर ९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र साधारण सभामा सहभागी हुन, मतदान गर्न र प्रस्तावित नगद लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*