शिखर इन्स्योरेन्सको दुई आवको साधारणसभा चैत्र ९ मा कति दिँदैछ लाभांश ?

१६ फाल्गुन २०७७, आईतवार १४:४८

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले दुई आर्थिक वर्षको साधारणसभा एकै पटक डाकेको छ । आव २०७५।०७६ र २०७६।०७७ को साधारणसभा आगामी चैत ९ गतेको लागि आह्वान गरेको हो । कम्पनीको १६ औं वार्षिक साधारणसभाले लाभांश प्रस्ताव समेत पारित गर्ने भएको छ । कूल चुक्ता पुँजिको २७.७६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै कम्पनीले विशेष प्रस्तावको रुपमा ३० प्रतिशत हकप्रद शेयर वितरण गर्ने जनाएको छ । कम्पनीको सञ्चालक समितिले साधारणसभामा एजेण्डाको रुपमा प्रस्तुत गरेको प्रस्तावमा सो समावेश छ । सो आधारमा कम्पनीले हकप्रद निष्काशन प्रक्रिया अघि बढाउने देखिएको छ ।

३० प्रतिशत हकप्रद सेयरबाट कायम शेयर पुँजीमा आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट २७.७६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव कम्पनीले गरेको सो कम्पनीले जनाएको छ ।
त्यस्तै, कम्पनीले गत साउन ४ गतेदेखि ३० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो । हकप्रद शेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ३६ करोड रुपैयाँ पुगेको थियो भने यसै पुँजीमा प्रस्तावित २७.७६ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ७३ करोड रुपैयाँ पुग्ने जनाएको छ ।

कम्पनीको आगामी चैत ९ गते हुने वार्षिक साधारण सभामा यहि पुँजीको पुनः ३० प्रतिशत हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले बोनस शेयर वितरण पछि कायम हुने शेयर पुँजीमा सर्वसाधाण शेयरधनीको हिस्सा ४९ प्रतिशत पुर्याउने विशेष प्रस्ताव गर्ने छ । हाल संस्थापक शेयर पुँजीको हिस्सा ६० प्रतिशत रहेको छ भने सर्वसाधारणको ४० प्रतिशत छ । शेयर कन्भर्जन पछि संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत पुग्ने कम्पनीले जनाएको छ ।

साधारसभामा सर्वसाधारण समुहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि फागुन २६ गतेदेखि बुक क्लोज हुने सो कम्पनीले जनाएको छ । फागुन २५ गतेसम्म कायम शेयरधनीले प्रस्तावित बोनस शेयर प्राप्त गर्ने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*