काभ्रे र सिन्धुपाल्चोकमा भेटियो नोट छाप्ने मेशिन, नक्कली नोटसहित चार जना पक्राउ

९ चैत्र २०७७, सोमबार २३:१७

काठमाडौं । काभ्रे र सिन्धुपाल्चोकमा नक्क्ली नोट बनाउने मेशिन भेटिएको छ । नक्कली नोट छापेर बजारमा पठाउने कार्यमा संलग्न चार जनालाई चितवन प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गर्दै नक्कली नोट छाप्दा छाप्दै चार जना पक्राउ परेको जानकारी दिएको छ । चितवन प्रहरीका अनुसार भरतपुर महानगरपालिका–१ बसपार्क क्षेत्रको पसलमा नक्कली नोट दिई सामान खरिद गरेपछि सो बिषय प्रहरीमा पुगेको थियो । लगत्तै प्रहरीले नक्क्ली नोट दिई सामान खरिद गर्ने व्यक्तिलाई पक्राउ गरेका थिए ।

प्रहरी अनुसन्धानको क्रममा नोट छाप्ने मेशिन काभ्रे र सिन्धुपाल्चोकमा लुकाएर राखिएको र राति रातिको समयमा नोट छाप्ने कार्य हुने गरेको खुलेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–६ सिपाघाटमा रहेको विश्वराम राईको मोबाइल पसलमा नक्कली नोट छाप्ने मेशिन राखेर धमाधम नोट छपाई भइरहेको पाइएको थियो । प्रहरीले सो पसलबाट ल्यापटप दुई थान, प्रिन्टर (फोटोकपी मेसिन) दुई थान, हार्डडिक्स एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धानको क्रममा सिन्धुपाल्चोकको मेलम्चीमा पनि नक्कली नोट छाप्ने मेशिन भेटिएको थियो । मेलम्ची नगरपालिका–१२ सिन्धुखोलामा रहेको राजाराम दनुवारको मोबाइल पसलमा नक्कली नोट छाप्ने मेशिन राखेको प्रहरीले जनाएको छ । सो स्थानबाट प्रिन्टर एक थान, नक्कलीनोट छाप्नका लागि प्रयोग भएको फोटोकपी पेपर पाना २४, एउटा एफोर पेपरमा नेपाली एक हजार दरको नोट अगाडिपछाडि छापिएको पेपर एक थान बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ का २८ वर्षीय विश्वराम राई र सोही ठाउँका २४ वर्षीय राजाराम दनुवार काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–८ का २९ वर्षीय देवेन्द्र राई र सोही ठाउँका १९ वर्षीय पवन राई रहेका छन् ।
पक्राउ परेका व्यक्तिहरु लाई सङ्गठित अपराध तथा निवारण ऐन–२०७० अन्तर्गत मुद्रासम्बन्धी कसूर (खोटा मुद्रा) मुद्दामा चितवन जिल्ला अदालतबाट सात दिनको म्याद थपगरी अनुसन्धान कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*