भटाभट मरे कुखुरा, ह्वात्तै बढ्यो अण्डाको मूल्य

२१ बैशाख २०७८, मंगलवार १३:३५

काठमाडौं । विभिन्न रोगका कारण भटाभट कुखुरा मरेर उत्पादन घटेपछि यतिबेला अण्डाको मूल्य आकासिएको छ । मानव स्वास्थ्यको लागि पौष्टिक मानिएको अण्डाको मूल्य प्रतिक्रेट ३७० तोकिएको छ । जुन अघिल्लो दिनको तुलनामा ३० रुपैयाँले बढि हो ।

आजदेखि फार्ममा ठूलो अन्डा प्रतिक्रेट (३० वटाको) ३७० रुपैयाँ र मिडियमको ३४० रुपैयाँ पुगेको छ । यसअघिको मूल्यमा प्रतिक्रेट ३० रुपैयाँ वृद्धि गरिएको नेपाल अण्डा उत्पादक संघका केन्द्रीय उपाध्यक्ष किरण ओलीले बताएको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ ।

ओलीको भनाइमा चार वर्षअघि अन्डाको मूल्य बढेर प्रतिक्रेट ३६५ रुपैयाँ पुगेको थियो । यसै वर्ष दुई महिनाअघि पनि प्रतिक्रेट अन्डाको मूल्य ३६० रुपैयाँ पुगेकामा केही दिनपछि घटेको थियो । एच ९ र रानीखेत रोगका कारण झन्डै २५ प्रतिशत कुखुरा मरेको कारणले अण्डाको मूल्य बढ्न गएको किसान बताउँछन् ।

ओलीका अनुसार दैनिक २४ लाख अन्डा उत्पादन हुँदै आएकामा रोगका कारण घटेर १७ लाख हाराहारीमा झरेको छ । अन्डाको उत्पादनमा कमी आएका कारण मूल्य बढ्दा समेत लाभान्वित हुन नसकेको उनको भनाइ छ ।

संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले सरकारले अन्डाको लागत मूल्य ११.५३ रुपैयाँ तय गरे पनि हाल लागत मूल्य बढेका कारण १२.३३ रुपैयाँ हाराहारी अर्थात् अहिलेको वृद्धि मूल्य बराबर पर्न जाने बताउँछन् । दानाको कच्चापदार्थको मूल्य अत्यधिक बढेपछि अन्डाको मूल्य बढेर पनि लाभ लिने अवस्थामा किसान नरहेको केसीको भनाइ छ ।

नेपाल दाना उद्योग संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर कँडेल यसअघि प्रतिकिलो ६४ रुपैयाँ मा आउने सामान्य भटमासको मूल्य बढेर १०८ रुपैयाँ पुगेको छ । त्यसैगरी, हाइप्रो भटमास प्रतिकेजी ७० रुपैयाँबाट बढेर ११५ रुपैयाँ पुगेको छ । तोरी, सूर्यमुखीलगायतको पिना प्रतिकिलो सात रुपैयाँले बढेको भन्दै उनले दानामा प्रयोग गरिने भिटामिनलगायत सामग्रीमा शतप्रतिशतसम्म मूल्य बढेको जानकारी दिए ।

यससँगै ढुवानीमा समेत मूल्य बढेको कँडेलको भनाइ छ । लागत मूल्यका आधारमा दानाको मूल्य धेरै बढ्ने भए पनि किसानले धान्न मुस्किल हुने भएकाले पटक–पटक गरी सात रुपैयाँ प्रतिकिलो मात्रै मूल्य बढेको उनको भनाइ छ । हाल लेयर्स दानाको मूल्य सरदर ६० रुपैयाँ प्रतिकिलो पर्न आउँछ ।

देशको गार्हस्थ्य उत्पादनको एक प्रतिशत अन्डाले मात्रै थेग्ने दाबी गर्दै उनले मूल्य नपाएकै कारण धेरै किसान विस्थापित भएको बताए । नेपालमा दुई हजार ७०० किसानले लेयर्स कुखुरा पाल्दै आएका छन् । यी फार्ममा दुई लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको व्यवसायी बताउँछन् । नेपालमा कुखुरापालन क्षेत्रमा एक खर्ब २५ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको व्यवसायीको भनाइ छ । रासस

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*