राष्ट्र बैंकले दश अर्बको विकास ऋणपत्र जारी गर्ने

७ असार २०७८, सोमबार १७:२१

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ ।

सरकारलाई आवश्यक रकम जुटाउनका लागि केन्द्रिय बैंकले विकास ऋणपत्र जारी गर्न लागेको हो । ६ वर्षे अवधि रहेको विकास ऋणपत्र २०८४ ‘च’ बोलकबोल प्रक्रियाबाट बिक्री हुने जनाइएको छ । सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, संगठित संस्था, बीमा कम्पनी र राष्ट्र बैंकको ऋण व्यवस्थापन विभागमा आवेदन दिन सकिने बैंकले जानकारी गराएको छ ।

राष्ट्र बैंकका अनुसार प्रतिस्पर्धी खरिदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात १ अर्ब ५० करोड छुट्याइएको छ ।

ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्काशित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकका अनुसार इच्छुक लगानीकर्ताले असार ८ गते दिउँसो २ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत सो ऋणपत्रका लागि बोलपत्र पेश गर्नुपर्नेछ ।

ऋणपत्र यही असार ९ गते निष्काशन हुनेछ भने साँवा भुक्तानि अबको ६ वर्षपछि यानिकी २०८४ असार ९ गते हुनेछ ।
विकास ऋणपत्रको प्रतिफल (व्याजदर) भने बोलकबोलमार्फत निर्धारण हुने बैंकले जनाएको छ । साथै अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ । नेपाल राष्ट्र बैंकले जारी गर्ने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले खरिद गर्नसक्नेछन् ।

राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्र्तगत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै बोलकबोलको रुपमा मात्र भाग लिन पाउनेछ । केन्द्रीय बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन नपाउने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*