ग्याँस, चामल र चिनीमा दिएको छुट बन्द गर्ने सरकारी निर्णय, आजदेखि ११२० रुपैयाँमा ग्याँस वितरण बन्द

९ असार २०७८, बुधबार १५:१६

काठमाडौं । खाद्य कम्पनी र साल्ट ट्रेडिङले निषेधाज्ञामा खाद्यान्न बिक्री वितरणमा छुट दिएको थियो । निषेधाज्ञा खुकुलो भएपछी सरकारी स्वामित्वमा रहेका यी दुई संस्थानले खाद्यान्न बिक्री वितरणमा छुट बन्द गरेका छन् ।

असार ८ गते मंगलबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र आज असार ९ गते बुधबारदेखि साल्ट ट्रेडिङ कर्पोरेसनले खाद्यान्नमा उपभोक्ताहरुलाई निषेधाज्ञामा दिँदै आइरहेको २० प्रतिशत छुट बन्द गरेका हुन् ।

गत वैशाख २० गतेदेखि देशभर रहेका ४८ वटा बिक्री काउन्टरबाट दिइएको छुट असार ८ गते मंगलबारबाट बन्द गरिएको खाद्य कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिएको हो । उनका अनुसार कम्पनीले करीब डेढ महिनाको अवधिमा रु एक करोड ३८ लाखभन्दा बढीको छुुट दिइएको छ । करीब ६ करोडभन्दा बढीको कारोबार हुँदा उक्त रकम छुट दिइएको हो । छुट अवधिमा १२ हजार ८८ क्विन्टल चामल बिक्री गरिएको छ ।

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनले समेत आज बुधबारदेखि छुट बन्द गरेको जानकारी दिएको छ । यी दुई कम्पनीले उपभोक्ताहरुका लागि निषेधाज्ञा अवधिदेखि नै छुट दिँदै आइरहेको थियो । छुट दिँदा उपभोक्ताको भीड बढेको भन्दै गत वैशाख २५ गतेदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र छुट दिएका थिए ।

साल्ट ट्रेडिङले सरकारले तोकेको २० प्रतिशत छुट अनुसार उभोक्तालाई छुट दिँदै आएको थियो । ट्रेडिङले ग्याँस, चामल र चिनीमा उपभोक्ताहरुलाई छुट दिएको थियो भने अब सोही छुट मूल्यमा उपभोक्ताले आजबाट सो सामाग्री नपाउँने भएको छ ।
साल्ट ट्रेडिङले छुट दिइ चिनी ६३ रुपैयाँ, पीठो ४४, तेल प्रतिलिटर १८८ र ग्याँस सिलिण्डर ११२० रुपियाँमा  बिक्री गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*