सर्वोत्तम सिमेन्टको २० प्रतिशत लाभांश पारित, आइपीओ निष्काशनको तयारीमा

११ असार २०७८, शुक्रबार १५:०८

काठमाडौं । सवोत्तम सिमेन्टले विशेष साधारण सभा सम्पन्न गरी प्रस्तावित २० प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले असार १० गते विशेष साधारण सभा सम्पन्न गरी हाल कायम चुक्तापूँजीको ३ अर्ब ४० करोडको आधारमा १९ दशमलव ११८ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर बापत १.००६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले संस्थापकतर्फ ८७ दशमलव १० प्रतिशत र सर्वसाधारणतर्फ १२ दशमलव ९० प्रतिशत शेयर स्वामित्व कायम हुने गरी ६० लाख कित्ता साधारण शेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । गत माघ २ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभाबाट कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव पारित गरेकोमा बुक विल्डिङ विधिबाट कम्पनीले आइपीओ निष्काशन गर्ने तयारी गरेको छ ।

कम्पनीले बिक्री प्रबन्धकको रुपमा गत चैत्र ४ गते नै ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको थियो । त्यस्तै कम्पनीले सहायक बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल र एनआईबिएल एस क्यापिटलाई नियुक्त गरेको बताएको छ ।

कम्पनीले बुक विल्डिङ विधिबाट ६० लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कुल कित्तामध्ये संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता, उद्योग प्रभावित स्थानियका लागि ८ लाख कित्ता र कम्पनीका कर्मचारी सहित अन्य सर्वसाधारणमा २८ लाख कित्ता आईपीओ विक्री तथा निष्काशन गर्ने कम्पनीको तयारी रहेको छ ।

आइपीओको अंकित मूल्य १०० भएपनि बुक विल्डिङबाट संस्थागत लगानीकर्ताहरुको मूल्यांकनका आधारमा शेयर मूल्य तय हुने जनाएको छ । आन्तरिक मूल्यांकन गर्दा प्रतिकित्ता ७५० भन्दा बढी मूल्य कायम हुने कम्पनीको विश्वास रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*