बजार पुँजिकरण अझै जिडिपीभन्दा माथि, आज के होला शेयर बजार ?

१३ असार २०७८, आईतवार ०८:१८

काठमाडौं । दुई दिन बन्द भएको शेयर बजार आज विहान ११ बजेदेखि खुल्दैछ । अघिल्लो साताको तुलतामा गत साता ३९ प्रतिशतले घटेको शेयर कारोबार आज के हुन्छ ? आम चासोको विषय बनेको छ । शेयर बजार स–साना कुराहरुले समेत निकै तरंगित हुने गरेको छ ।

दुई साता पहिले युरोपियन कपमा खेलाडीले कोकको बोतल हटाउँदा शेयर बजारमा तरंग आएको थियो । त्यस्तै नेपालमा बजार पुँजिकरण कूल ग्राहस्त उत्पादनभन्दा माथि पुगेकोले शेयर बजार कुनै पनि बेला ढल्न सक्ने विश्लेषकहरुले चर्चा गर्दै आएका छन् । शेयर बजारमा ढल्न सक्ने र यसले लगानीकर्तामा ठूलो निराशा ल्याउन सक्ने भन्दै धितोपत्र बोर्डले समेत सूचना जारी गर्दै कम्पनीहरुको वित्तीय विवरणबारे राम्रोसँग अध्ययन गरेर मात्रै लगानी गर्न र पछि पछुताउने अवस्था आउनसक्नेतर्फ सचेत हुन भनिसकेको छ ।

जिडिपीसँग बजार पुँजिकरणको रेसियो गणना गर्दा ५०% देखि ७५% सम्म आएमा अण्डरभ्यालुड, ७५% देखि ९०% प्रतिशतसम्म आएमा औसत र ९०% देखि ११५% सम्म आएमा ओभरभ्यालुड मानिन्छ । वारेन बफेटले धेरै नै प्रयोग गरेको उक्त इण्डिकेटर अनुसार नेपालको पुँजिबजार अझै ओभरभ्यालुएड देखिन्छ । तर, अमेरिकामा जिडिपीको दोब्बरसम्म पुगेको र भारतमा ११५ प्रतिशतसम्म पुगेको अवस्थामा नेपालमा शेयर बजार अझै बृद्धि हुँदैन भनेर भन्न सकिने अवस्था छैन ।

नेपालमा ११५% प्रतिशतसम्म पुगेको बजार पुँजिकरण र कूल ग्राहस्थ उत्पादनको रेसियो अझै १००% भन्दा माथि छ । त्यसो त अमेरिकामा कोरोना महामारीको कारण कूल ग्राहस्थ उत्पादन घट्न पुँजि शेयर बजारको दवदवा बढेको छ । अमेरिकामा हिजो शेयर बजारको पुँजिकरण र जिडिपी रेसियो २०४.२ प्रतिशत पुगेकोछ । अमेमरिकी शेयर बजारको इतिहासमा यो सबैभन्दा उच्च बिन्दु हो । २०१७ मा १६४ प्रतिशतसम्म पुगेको बजार पुँजिकरण र जिडिपी रेसियो यस अवधीमा धेरै घटबढ हुने क्रममा अहिले दोब्बर भन्दा बढि भएको हो ।

उता, भारतमा पनि शेयर बजार उच्च अंकले बृद्धि हुँदा सन् २००८ को रेडर्क पछ्याँदै बजार पुँजिकरण र जिडिपी रेसियो ११५% पुगेको छ । सन् २००८ मा १५० प्रतिशत पुगेको बजार पुँजिकरण जिडिपी रेसियो यस पटकको कोरोना महामारीको निषेधाज्ञामा पुनः ओभरभ्यालुड भएको हो ।

बजार पुँजिकरण जिडिपीभन्दा माथि पुगेपछि नेपाल धितोपत्र बोर्डले देखाएको चासो, कुनै कारणवश शेयर बजारमा ठूलो क्र्यास आएको अवस्थामा लगानीकर्ताहरुमा निराशा उत्पन्न भई सामाजिक समस्या समेत निम्तिन सक्ने हुँदा नियामक निकायले आगामी दिनमा केही कडाई गर्न सक्ने देखिन्छ ।

पछिल्लो एक साताको तथ्याङ्क अवलोकन गर्ने हो भने शेयर बजारका लागि त्यति सुखद देखिदैन । समग्रमा शेयर मूल्यमा धेरै नघटेपछि कारोबार घट्दै जानुले लगानीकर्ता विस्तारै सुरक्षित हुन खोजेको देखिएको छ । तथ्याङ्क अनुसार अघिल्लो साताको तुलनामा गत साता कूल शेयर कारोबार ३९.६२ प्रतिशतले गिरावट आएको छ भने कूल शेयर खरिद बिक्री संख्यामा ३२.५९ प्रतिशतले तल झरेको छ । समग्र मूल्य सूचांक नेप्से १२५.४३ अंकले घट्दा ४.२३ अंकको गिरावटको सामना गर्नु परेको छ । त्यस्तै, बजार पुँजिकरण पनि ४१.३९ खर्बबाट ३९.४९ खर्बमा झरेको छ । जुन अघिल्लो साताको तुलनामा ४.५८ प्रतिशतको गिरावट हो ।

समुहगत रुपमा गत साता घटेको आधारबाट विश्लेषण गर्दा विकास बैंक सर्वाधिक गुमाउनेको सूचिमा पर्दै गत साता ७.५७ प्रतिशतको भारी गिरावटको सामना गरेकोमा यो साता पनि उक्त उपसमुहका लागि निकै चुनौतिपूर्ण बन्नेछ । त्यस्तै लघुवित्त कम्पनीहरुको शेयरमा पनि जोखिम नै देखिन्छ । गत सातामा सो उपसमुहको शेयर ५.८१ प्रतिशत घटेको छ ।

जीवन बीमा कम्पनीहरुको शेयर चुनौतिपूर्ण  देखिन्छ । जीवन बीमा समुहको शेयर मूल्य गत साता ५.१११ प्रतिशतले घटेको छ । त्यस्तै निर्जिवन बीमा कम्पनीहरुको शेयर मूल्य ४.४७ अंकले घटेको छ । बीमा कम्पनीहरुको साधारणसभा तत्कालै साधारणसभा गर्ने अवस्थामा कुनै पनि नहुने हुँदा शेयर मूल्य बृद्धि हुने अवस्था देखिदैन । यद्यपि सगरमाथा इन्स्योरेन्सको बुक क्लोज मिति नजिकै आएकोले सो कम्पनीको शेयर भने बढि नै कारोबार हुने देखिन्छ ।

नियमनकारी निकायको चासो, बजार पुँजिकरण जिडिपीभन्दा माथि भएको अवस्थामा शेयर मूल्यमा ठूलो उछाल आउने सम्भावना छैन । साथै बजार उच्च बिन्दुमा पुगेको अवस्थामा सुरक्षित हुन चाहनेले शेयर बिक्री गर्ने प्रवृत्ति देखिने र लगानी गर्नेले ठूलो मात्रामा शेयर खरिद गर्न हच्किने हुँदा कारोबार घट्ने गत साताको प्रवृत्ति यो साता पनि दोहोरिन सक्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*