बस्तु बिनिमय औपचारिक रुपमा सुरु हुँदै, धितोपत्र बोर्डले जारी गर्यो निर्देशिका

१५ असार २०७८, मंगलवार १७:२७

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बस्तु विनियम औपचारिक रुपमा सुरु गर्ने प्रक्रिया अघि बढाएको छ । बोर्डले आजबाट लागू हुनेगरी ‘बस्तु विनिमय बजार संचालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्थासम्बन्धी निर्देशिका, २०७८’ जारी गरेको छ । बोर्डको निर्णयसँगै वस्तु विनिमय बजार संचालनको लागि बाटो खुला भएको छ ।

नेपालमा वस्तु विनिमय बजार सम्बन्धी प्रचलित कानुनबमोजिम वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनी स्थापना गर्न धितोपत्र बोर्डबाट पूर्वस्वीकृति लिनुपर्ने, अनुमतिपत्र तथा सञ्चालन स्वीकृति प्रदान गर्ने प्रक्रियालाई व्यवस्थित, पारदर्शी एवं विश्वसनीय बनाउन आवश्यक भएकाले यो निर्देशिका जारी गरिएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ को दफा ६३ को खण्ड (ख) को व्यवस्थाबमोजिम यो निर्देशिका जारी गरिएको हो । नयाँ निर्देशिका जारी भएसँगै अब वस्तु विनिमय बजार सञ्चालनका लागि कुनै पनि नयाँ संस्थाले नियम अनुसार लाइसेन्स लिएर कारोबार सुरु गर्न सक्नेछन् । निर्देशिका अनुसार नयाँ वस्तु विनिमय बजार सञ्चालनका लागि प्रस्तावित संस्थाको संस्थापकहरुले कम्तीमा ५१ प्रतिशत र बढीमा १०० प्रतिशत सेयर लगानी हुन सक्ने व्यवस्था गरेको छ ।

निर्देशिकाले प्रस्तावित नयाँ संस्थामा विदेशी रणनीतिक साझेदार हुन सक्ने बाटोसमेत खोलिदिएको छ । जसमा प्रस्तावित संस्थामा विदेशी रणनीतिक साझेदार संस्थाले कुल चुक्तापुँजीको बढीमा ५१ प्रतिशतसम्म सेयर लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।

कारोबार गरिने वस्तुका आधारमा वस्तु विनिमय बजार सञ्चालन गर्ने संगठित संस्थाको न्यूनतम चुक्तापुँजी एक अर्ब ५० करोड रुपैयाँ र दुई अर्ब रुपैयाँ हुनुपर्ने छ । जसअनुसार न्यूनतम चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ हुने संगठित संस्थाले वस्तु विनिमय बजारसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१३ को खण्ड (क), (ङ), र (च) मा तोकिएका वस्तुको कारोबार गर्न पाउनेछ ।

यसैगरी २ अर्ब रुपैयाँसम्म चुक्तापुँजी भएको संगठित संस्थाले भने वस्तु विनिमय बजार सम्बन्धी नियमावली,२०७४ को अनुसूची–१ वस्तु विनिमय बजारसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१३ को खण्ड (क), (ख), (ग), (घ), (ङ), र (च) मा तोकिएका वस्तुहरूको कारोबार गर्न पाउनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*