माछापुच्छ्रे बैंकको ३ अर्बको ऋणपत्र आजदेखि आवेदन खुल्ला

३१ असार २०७८, बिहीबार १२:२७

काठमाडौं । माछापुच्छ्रे बैंकको ऋणपत्रमा आजदेखि आवेदन खुल्ला भएको छ । बैंकले ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र असार मसान्तदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

बैंकले वार्षिक ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि निष्काशन गरिएकोमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

१० वर्षे अवधि रहेको सो ऋणपत्र खरिदका लागि साउन ४ गतेसम्म आवेदन दिन सकिने बैंकले जानकारी गराएको छ । साथै सो अवधिसम्म पूर्ण आवेदन नपरेको खण्डमा निष्काशन अवधि साउन १७ गतेसम्म लम्ब्याइने बैंकले जनाएको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*