कोभिड प्रभावित समुदायलाई सहयोग गर्न सिभिल बैंकको तीन संस्थासँग सम्झौता

४ श्रावण २०७८, सोमबार ११:२३

काठमाडौं । सिभिल बैंकले कोभिड–१९ बाट प्रभावित विपन्न समुदायका लागि सहयोग गर्ने भएको छ । बैंकले कोरोनाबाट प्रभावित समुदायका लागि सहयोग गर्न हेल्भेटास नेपाल, क्षीरेश्वरनाथ नगरपालिका र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

मुलकभर महामारीको रुपमा फैलिरहेको कोरोनाको पहिलो लहरमा स्वास्थ्य तथा आर्थिक रुपमा समस्या भोगिरहेका डोम, चमार र मुसहरजस्ता विपन्न समुदायलाई पुनः दोस्रो लहरले पनि थप समस्या बनाएको अवस्थामा आइतबार चार पक्षबीच सहयोग प्रदान गर्न हस्ताक्षर भएको हो ।

कोरोनाले पारेको प्रभावलाई न्यूनीकरण गर्ने हेतुले हेल्भेटास नेपाल र स्वीस सोलिडारिटीले क्षीरेश्वरनाथ नगरपालिकाका न्युनस्तर भएका समुदाय (मुसहर, चमार र डोम) का आधारभूत आवश्यकतालाई सम्बोधन गर्न नगरमा छनोट भएका १ हजार २ सय ५० घरधुरीलाई अनुदान सहयोग प्रतिघरधुरी रकम २० हजारका दरले भुक्तानी दिइने जनाएको छ ।

बैंकले छनोट भएका परिवार विशेष गरी महिला सदस्यका व्यक्तिगत बैंक खाता खोल्न सहयोग गरी नगद रकम हस्तान्तरण गर्ने व्यवस्था मिलाउनेछ । बैंकले उक्त समुदायमा बैंकिङ प्रणाली तथा वित्तीय साक्षरतासम्बन्धी अभियान पनि सञ्चालन गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*