नेपालको बैंकिङ सिष्टम ध्वस्त पार्ने ह्याकरको धम्की, १५ वटा बैंकको सिष्टम ह्याकरको निशानामा !

७ श्रावण २०७८, बिहीबार १३:२७

काठमाडौँ । ह्याकरहरुको एउटा समुहले नेपालको बैंकिङ सिष्टम नै ध्वस्त पार्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर देव कुमार ढकाललाई टेलिफोनमार्फत दिइएको धम्कीमा नेपालका १५ वटा बैंकका सिष्टम कमजोर रहेकोले आफूहरुले कुनै पनि बेला ह्याक गरेर तलमाथी गर्न सक्ने चेतावनी दिएका छन् ।

हिजोदेखि नै नेपालका बैंकहरुमा ह्याकरहरुले खतरापूर्ण इमेल पठाउँदै यस्तो धम्की दिइएको सन्दर्भमा आज विहान नेपाल राष्ट्र बैंकमा इमेल तथा टेलिफोनबाट यस्तो धम्की दिइएको प्रबक्ता ढकालले जानकारी दिए । ह्याकरहरुको धम्की लगत्तै साईबर सुरक्षामा विशेष ध्यान दिइएकोले कुनै पनि समस्या नहुने राष्ट्र बैंकले जनाएको छ । त्यसो त ह्याकरहरुले धम्की दिएकै दिन आज विहान ११ः१५ बजेको समयमा ग्लोबल आर्ईएमई बैंकको सिष्टम चल्न सकेका थिएन ।

राष्ट्र बैंकका प्रबक्ता ढकालले नेपालको बैंकिङ प्रणाली पूर्ण रुपमा सुरक्षित रहेकोले सर्वसाधारणलाई ढुक्क हुन आह्वान गरेका छन् । अज्ञात समुहले नेपालको बैंकिङ प्रणाली नै ध्वस्त पार्ने चेतावनी दिएसँगै नेपाल राष्ट्र बैंकले सम्भावित कमजोरीहरु पत्ता लगाउन प्रयत्नहरु गरिरहेको कुनै समस्या नरहेको जनाएको छ । ह्याकरहरुको समुहले बुधबार देखि नै बैंकहरुमा इमेलमार्फत आफूले ह्याक गर्न लागेको सूचना पठाएका थिए । सो सबै सूचना तथा नेपाल राष्ट्र बैंकलाई आएको सूचनाको आधारमा नेपाल प्रहरीले समेत अनुसन्धान अघि बढाएको छ ।

ह्याकले इमेलमार्फत दिएको धम्कीमा नेपाल राष्ट्र बैंक, कु्मारी बैंक, नेपाल बैंक, नबिल बैंक, बैंक अफ काठमाण्डु, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैक, एनआइसी एशिया बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, सानिमा बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालय बैंकको नाम उल्लेख भएको जनाइएको छ ।

राष्ट्र बैंकका प्रबक्ता ढकालले ह्याकरको धम्कीपछि सबै बैंकहरुसँग छलफल भएको, आवश्यक पूर्व तयारीहरु गरिएको जानकारी दिए । ह्याकरहरुको धम्कीपछि सबैं बैंकका सिष्टमहरु चेक गर्दा कुनै समस्या फेला नपरेको समेत जानकारी दिए । साथै ह्याकरहरुले दिएको धम्कीको सम्बन्धमा नेपाल प्रहरीको साईबर ब्यूरोलाई समेत सूचना दिएर आवश्यक समन्वय भइरहेको जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*