७६ लाख २३ हजार कित्ता आईपिओ यसै महिना आउने, तर गोलाप्रथा नगरी नपाइने

९ श्रावण २०७८, शनिबार २२:०४

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएर जारी गर्न पालो कुरेर बसेका तीन कम्पनीको ७६ लाख २३ हजार ७५० कित्ता आईपिओ यसै महिना निष्काशन हुने भएपनि सर्वसाधारणले भने गोला प्रथाकै भर पर्नुपर्ने भएको छ । सर्वसाधारणले १० कित्ता आईपिओको लागि अझै पनि भाग्यचिठ्ठा नै कुर्नुपर्ने भएको छ ।

पछिल्लो पटक निफ्राको आईपिओ सबैले ४० र ५० कित्ता पाएका थिए । त्यस यता सबै आईपिओ भाग्यचिठ्ठाकै भरमा वितरण भइरहेको छ । सरकारले निकै वर्ष पहिले प्राथमिक शेयरमा सर्वसाधारणको पहुँच बृद्धि गर्न न्यूनतम् १० कित्ता आईपिओ बाँडफाँड गर्नुपर्न व्यवस्था लागू गरेको थियो । सो व्यवस्थासँगै थुप्रै सर्वसाधारण आईपिओ भरेर मालामाल भएका छन् ।
यद्यपि पछिल्लो समय केही व्यक्तिले पेशाका रुपमा आईपिओ भर्ने गरेका कारण आईपिओमा आवेदन दिनेको संख्या २२ लाख पुग्न लागिसकेको छ । सोही कारण आईपिओमा अत्याधिक माग भएर अर्बौ रुपैयाँको शेयर जारी हुँदा पनि सर्वसाधारण भने गोलाप्रथाकै भर पर्नुपरेको छ ।

यसै महिना एउटा जीवन बीमा कम्पनी, एउटा लघुवित्त वित्तिय संस्था र एउटा हाइड्रो पावर कम्पनीले आईपीओ जारी गर्ने अनुमति पाएका छन् । आईपिओ निष्काशनको तयारी पूरा भएर पनि सर्भर अपग्रेड गर्नु परेका कारण साउनको दोस्रो सातापछि मात्रै आईपिओ जारी सुरु हुनेछ ।

अनुुमति पाएको मध्ये सानिमाले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्नेछ । जसको बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । त्यस्तै, मानुषी लघुवित्त वित्तिय संस्थाले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई बिक्रि प्रबन्धक तोकेको कम्पनीले पनि यसै महिनाभित्रैमा आईपिओ जारी गर्नेछ ।

जल विद्युतमा लगानी गर्नेहरुको लागि समेत अवसर रहेको छ । समलिङ पावर कम्पनी लिमिटेडको १२ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ निकाल्ने अनुमति पाएको छ । यसको पनि बिक्रि प्रबन्धकमा भने नेपाल एसबिआई मर्चेन्ट नै तोकिएको छ ।

उल्लेखित कम्पनीहरुको आईपिओ अत्याधिक मात्रामा माग पर्ने हुँदा न्यून मात्रै सर्वसाधारणले १० कित्ता पाउने र ठूलो संख्यामा लगानीकर्ताले आईपिओ नपाउने सम्भावना बनेको छ । तर, जेहोस्, यो महिना खुल्ने आईपिओ आवेदन दिनेहरु तीन पटक लक्की ड्रबाट एउटा न एउटामा त कसो नपर्ला भन्दै प्रतिक्षा गरिरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*