नयाँ व्यक्तिले आईपिओ कसरी भर्ने ? यी हुन आईपिओ भर्न चाहिने आवश्यक कुरासहितका सबै प्रक्रिया

मनिस सोती
१७ असार २०७८, बिहीबार १२:०५

काठमाडौं । पछिल्लो समय साधारण शेयर (आइपीओ)प्रति सर्वसाधारणहरुको आकर्षण बढिरहेको छ । एकपछि एक गर्दै विभिन्न कम्पनीहरुले आइपीओ निष्काशन गर्दा आवेदकहरुको संख्या ह्वात्तै बढ्न पुगेको छ ।

पछिल्लो समयको तथ्याङ्कअनुसार २५ लाख भन्दा बढिले डिम्याट (हितग्राही) खाता खोलिसकेका छन् भने सक्रिय डिम्याट खाता २० लाख भन्दा बढि छन् । कुनै पनि कम्पनीले आइपीओ निष्काशन गर्दा २० लाख भन्दा बढिको आवेदन पर्ने गरेको छ । जुन अत्यधिक बढी हो । गत वर्ष जम्मा दुई लाख मात्रै डिम्याट खाता सक्रिय रहेकोमा एकै वर्षमा ह्वात्तै बृद्धि भएको हो ।

भर्खरै आइपीओ निष्काशन तथा बिक्री खुला गरेको जीवन विकास लघुवित्तको आइपीओमा करिब २१ लाखको आवेदन परेको छ । यो अर्थमा पनि बुझ्न सकिन्छ कि प्राथमिक शेयरमा मानिसहरुको आकर्षण बढिरहेको छ ।

एक वर्षको अवधिमा हितग्राही खाता खोली पुँजी बजारमा छिर्नेको संख्या ह्वात्तै बढेको छ । त्यस्तै, प्राथमिक शेयर पछि दोस्रो बजारमा छिर्नेको संख्या पनि बढेको छ । हाइड्रोपावर कम्पनी, जीवन बीमा कम्पनी, बैंक तथा वित्तीय कम्पनीहरुले एक पछि एक गर्दै आइपीओ निष्काशन गर्दै आएको छ । निष्काशन गरेको आइपीओमा १५ गुणा भन्दा बढिको आवेदन पर्ने गरेको छ ।

आइपीओ एक चिठ्ठा जस्तै बन्न पुगेको छ । मागभन्दा धेरै गुणा आवदेन परेकाले गोलाप्रथाबाट यसको बाँडफाँड गर्ने गरिन्छ । कुनै पनि कम्पनीको आइपीओ निष्काशन भएपछि आवेदन दिनका लागि सर्वप्रथम वाणिज्य बैंक र विकास बैंकका ‘क’, ‘ख’ र ‘ग’ वर्ग भएका बैंकहरुमा व्यक्तिको खाता रहेको रहेको हुनुपर्दछ । भर्खरै आइपीओ भर्न अर्थात् शेयरबजारमा छिर्न चाहनेहरुलाई शुरुमा के गर्ने भन्ने कुराको अन्योलता हुन सक्दछ । यसैबीच प्राथमिक शेयर (आइपीओ) कसरी भर्ने र त्यसका लागि के–कस्ता प्रक्रिया, मापदण्ड पूरा गर्नुपर्दछ भन्ने कुराको चर्चा गरिएको छ । साथै दोस्रो बजारमा कारोबार गर्न चाहनेहरुको लागि समेत यो लेख उपयुक्त हुनसक्दछ । हाल शेयर बजारमा कारोबार गरिरहेकाहरुको लागि यो लेखमा कुनै नयाँ कुरा नहुन सक्दछ, जसलाई पुँजिबजार बारे सामान्य ज्ञान समेत छैन, मुख्य रुपमा उनीहरुका लागि यो सामग्री फलदायी हुनसक्दछ ।

१. बैंकमा खाता खोल्ने
कुनै पनि कम्पनीको आईपीओमा आवेदन दिन तथा शेयर कारोबारका लागि सर्वप्रथम व्यक्तिको वाणिज्य बैंक तथा विकास बैंकका क, ख र ग वर्गका बैंकहरुमा जुनसुकै किसिमको बचत खाता रहेको हुनुपर्दछ । यदि नभएको खण्डमा जुनसुकै बैंकमा गई खाता खोल्नुपर्दछ । खाता खोल्न पनि गाह्रो छैन । बैंकमा भौतिक रुपमा उपस्थित भएर वा अनलाईनबाटै पनि खाता खोल्न सकिन्छ ।

२. डिम्याट खाता खोल्ने
आइपीओ भर्न वा कुनै पनि शेयर कारोबारको लागि डिम्याट खाता अनिवार्य रुपमा चाहिन्छ । डिम्याट (हितग्राही) खोल्नका लागि खाता पहिले नै बैंक खाता छ भने सोही खाता प्रयोग गर्न सकिन्छ । तर, बैंक खाता चालु अवस्थामा हुनुपर्दछ । जुनसुकै क्यापिटल कम्पनीमा गई डिम्याट खाताको फर्म भरी डिम्याट खाता संचालन गर्न सकिन्छ । साथै अनलाईनबाटै पनि डिम्याट खोल्ने व्यवस्था छ । यदि क्यापिटल नजिक नभएको खण्डमा पायक पर्ने बैंकको शाखामा गई डिम्याट खाता संचालनको लागि फर्म समेत भर्न सकिन्छ । र बैंक वा क्यापिटलको वेबसाइटमा गई अनलाईनमार्फत पनि डिम्याट खाता खोल्न सकिन्छ । कतिपय बैंकहरुले समेत क्यापिटल मार्केटको सुविधा दिइरहेका छन् ।


डिम्याट खाता फर्म भरेको अर्थात अनलाईनबाट फर्म भरेको २/३ दिनमा बैंकले डिम्याट खाता संचालन भएको जानकारी गराई डिपि आइडि र क्लाइन्ट आईडि ईमेलमार्फत पठाउँदछ । सो आइडि हितग्राहीले सुरक्षितका साथ राख्नुपर्दछ ।

बुझ्नुपर्ने कुराः
व्यक्तिसँग भएको नगद राख्नको लागि बैंकमा जम्मा गरेजस्तै व्यक्तिले आफूसँग भएको शेयर क्यापिटल कम्पनीमा जम्मा गर्नको लागि डिम्याट खाता सञ्चालन गर्ने व्यवस्था गरिएको हो । यसले नगद तुरुन्तै तपाईको खाताबाट अर्को व्यक्तिको खातामा पठाए झै शेयर पनि तत्कालै ट्रान्सफर गर्न मिल्ने हुँदा डिम्याट खाता खोलिएको हो । प्रश्न आउन सक्छ, उसो भए बैंक खाता किन चाहियो ? बैंक खाता शेयर खरिद बिक्री बापत आउने रकम जम्मा गर्न चाहिने हो । शेयर बिक्री गरेपछि आउने नगद कहाँ जम्मा गर्ने त ? शेयर खरिद गर्दा पैसा त तिर्नुपर्यो । हो, त्यही रकम भुक्तानीको लागि बैंक खाता चाहिएको हो । बैंक खाता र डिम्याट खाता लिङ्क भएपछि बैंकले सिआरएन नम्वर दिन्छ । सो नम्बर प्रयोग गरेपछि डिम्याट खाताले तपाईको बैंक खाताबाट सिधैं रकम लैजान सक्नेछ ।

३. मेरोशेयरको खाता
बैंक खाता र डिम्याट खाता भइसकेपछि आफ्नै मोबाइल वा अनलाईनबाट आईपिओ भर्न मेरो शेयरको खाता खोल्नु पर्दछ । बार्षिक ५० रुपैयाँ लाग्ने मेरो शेयर सिडिएस एण्ड क्लीयरिङ हाउसको व्यवस्थापनमा सञ्चालनमा छ । मेरो शेयरमा खाता खोलिसकेपछि तपाईले अनलाईनबाटै शेयर खरिद बिक्री सम्बन्धी काम गर्न सक्नुहुन्छ भने तपाईको डिम्याट खातामा कति शेयर छ भनेर हेर्न सक्नुहुन्छ । त्यस्तै शेयर बिक्री गर्दा ट्रान्सफर गर्न सक्नुहुन्छ । आईपिओ पनि मेरो शेयरबाटै भर्ने व्यवस्था गरिएको छ । मेरो शेयर भएन भने आस्बा सदस्य भएका बैंकमा पुगेर शेयर भर्नुपर्दछ

डिम्याट खाताको नम्वर र बैंक खाताको नम्वर राखेर मेरो शेयरको खाता खोल्न सकिन्छ । यसको लागि डिम्याट खाता जहाँ खोलेको हो, त्यहीबाट मेरो शेयरको खाता खोल्दा सजिलो हुन्छ । मेरो शेयरको खाता खोलिसकेपछि त्यसबाट युजर आईडी र पासवर्ड आउँछ, सोही पासवर्ड र युजर आईडीको सहायताले मेरो शेयरको सर्भरमा लगइन गरेर आईपिओ भर्न सकिन्छ ।
मेरोशेयरको आइडि र पासवर्ड लिइसकेपछि मेरोशेयरको वेबसाइटमा गई लगइन गरी पासवर्ड परिवर्तन गरेर मात्र चलाउनुपर्दछ । लगइन पश्चात ४ अंकको पिन कोड सेट गर्नुपर्दछ जुन आफुसँग सिमित गोप्य रहनुपर्दछ ।

सिआरएन नम्वर
क्यापिटल मार्केट कम्पनीबाट डिम्याट खाता खोलिसकेपछि सोही नम्वर राखेर पुनः आफ्नो बैंक खाता भएको बैंकमा गएर वा अनलाईनमार्फत सिआरएन रजिष्ट्रर फर्म भर्नुपर्दछ । यसको लागि नागरिकता अनिवार्य लिएर जानुपर्दछ । साथै डिम्याट खाता खोलिसकेपछि प्राप्त भएको डिपि आईडि पनि लिएर जानुपर्दछ । डिम्याट खाताको नम्वर, बैंक खाताको नम्वर समावेश गरेर सिआएन नम्वर पाइन्छ ।

४. आइपीओ भर्ने तरिका
मेरो शेयर आइडी र पासवर्ड तयार भइसकेपछि जुनसुकै कम्पनीको आइपीओमा आवेदन दिन सकिन्छ । साथै आफ्नो शेयर कति छ भनेर हेर्न पनि सकिन्छ । यसका लागि मेरो शेयरको वेबसाइटमा गई सर्वप्रथम लगइन गर्ने ।

त्यसपछि लेफ्ट कर्नरमा रहेको ‘माइ आश्वा’ मा गई अप्लाई इश्युमा जानु पर्दछ । त्यसपछि आइपीओ आवेदन खुल्ला रहेको कम्पनीको राइट साइडमा गई अप्लाईमा क्लिक गरी आवेदन दिन सकिन्छ ।
साथै कम्पनीले न्युनतम र अधिकतम कतिसम्म आवेदन दिन सकिन्छ त्यो कुरालाई ख्याल गरी अप्लाईड कित्तामा त्यति नै राख्नुपर्दछ । आवेदन दिँदा आफ्नो कुन बैंकमा खाता रहेको त्यहि खाता राख्ने र त्यहा मागेअनुसार सबै भरेर प्रक्रिया पूरा गर्नुपर्दछ । र अन्त्यमा कन्फरमेशनको लागि आफुले सेट गरेको ४ वटा पिन कोड राखेर अप्लाई गर्न सकिन्छ । सो क्रममा बैंकबाट लिएको सिआरएन नम्वर समेत आवश्यक पर्दछ । यी सबै कुरा राखेर भरिसकेपछि अन्त्यमा हरियो आईकनमा सफल भयो भन्ने वाक्यांश अंग्रेजी भाषमा आउनेछ ।

५. मेरोशेयर आइडि पासवर्ड नभएको खण्डमा:
यदि तपाईसँग बैंक खाता छ, डिम्याट खाता पनि खोल्नु भयो, अनि मेरो शेयर आइडी र पासवर्ड नभएको खण्डमा पनि आइपीको लागि आवेदन दिन सकिन्छ । इन्टरनेट प्रयोग गर्न नसक्ने र शिक्षाको कारण अनलाईनबाट भर्न सक्दिन भने पनि तपाईले आईपिओमा आवेदन सक्नुहुनछ । यसका लागि मेरोशेयर आइडि र पासवर्ड नभएको खण्डमा नेपाल धितोपत्र बोर्डबाट सि आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । नेपालका २६ वटा भन्दा बढि बैंक तथा वित्तीय संस्थाले सि आस्बा सदस्यता लिएकाले सबै बैंकहरुले आईपिओ भर्न पाउछन् । त्यसैले मेरो शेयरको आईडी, पासवर्डले काम गरेन, वा छैन भने पनि नजिकैको पायक पर्ने कुनै पनि बैंकको शाखामा गई आइपीओ आवेदनको फर्म भरी आफुले चाहेको कित्ता माग गरी आवेदन दिन सकिनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*