माछापुच्छ्रे बैंकले असार ३१ गते ३ अर्बको ऋणपत्र निष्काशन गर्ने

२३ असार २०७८, बुधबार १२:२९

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले असार ३१ गते ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले १० वर्षे अवधि रहेको ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०७८’ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणका लागि निष्काशन तथा बिक्री गरिएकोमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको बैंकले जनाएको छ ।

सो ऋणपत्रमा इच्छुक लगानीकर्ताले छिटोमा साउन ४ गतेसम्ममा आवेदन दिन सकिने जनाएको छ । यदि तोकिएको समयभित्र पूर्ण आवेदन नपरेको खण्डमा निष्काशन तथा बिक्री अवधि लम्बिने बैंकले जनाएको छ । सो ऋणपत्रका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*