असार मसान्तपछि सबै डिम्याट खाताहरु निस्क्रीय बन्दैछन्, कसरी गर्ने डिम्याट र मेरो शेयर नविकरण ? (नविकरण विधिसहित)

मनिष सोती
२६ असार २०७८, शनिबार १८:४९

बैंक तथा क्यापिटलहरुले आर्थिक वर्ष २०७७/०७८ अन्त्य असार मसान्तसम्ममा हितग्राही (डिम्याट) खाता नविकरण शुल्क बुझाउन आह्वान गरेका छन् । हितग्राही खाता र मेरो शेयर संचालन गरेवापत वार्षिक शुल्क तिनुपर्ने भएकाले निक्षेप सदस्य (डिपी) हरुले डिम्याट खाता नविकरण गर्नुपर्ने सूचना जारी गर्न थालेका छन् । डिम्याट खाता सम्बन्धी विद्यमान नियम अनुसार एक वर्षभन्दा बढि समयको शुल्क भुक्तानी गरेका बाहेकका सबै डिम्याट खाताहरु साउन १ गते अघि नै नविकरण गर्नै पर्ने हुन्छ । असार मसान्तभित्र नविकरण नभएका डिम्याट खाताहरु बन्द हुन सक्ने भन्दै मर्चेन्ट बैंकिङ कम्पनीहरुले सूचना जारी गरिरहेका छन् ।

पछिल्लो समयमा नयाँ डिम्याट खोल्नेहरुको संख्या ह्वात्तै बढ्न पुगेको छ । विभिन्न कम्पनीहरुले एकपछि एक गर्दै साधारण शेयर (आइपीओ) निष्काशन गरिरहेकोले नयाँ लगानीकर्ताहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ । कम्पनीले डिम्याट खाता नविकरण गर्न सूचना जारी गरेपनि यसरी नविकरण गर्नेको संख्या भने सारै नै न्यून छ । डिम्याट खाता र मेरो शेयर किन र कसरी नविकरण गर्ने भन्ने कुराको अन्योलता रहेको पनि हुन सक्ने अनुमान गरिएको छ । लगानीकर्ताले डिम्याट खाता र मेरो शेयरको खाता समयमा नविकरण गर्न नजान्दा आईपीओमा आवेदन गर्नबाट नै बञ्चित हुनुपर्ने अवस्था आउन सक्नेछ ।

विभिन्न बैंक तथा क्यापिटलहरुले पनि लगातार रुपमा असार मसान्तभित्रमा डिम्याट खाता नविकरण गर्नुपर्ने सूचना जारी गरिरहेका छन् । सोही अवधिभित्रमा डिम्याट नविकरण शुल्क नतिरेमा खाता स्वतः रोक्का हुने कुराको पनि जानकारी गराइरहेको छ ।

पछिल्लो समयको नेपाली पूँजीबजार केही हदसम्म प्रविधिमैत्री भइसकेकोले अहिले पहिला जस्तो नविकरणको लागि निक्षेप सदस्यको कार्यालय धाउनु पर्ने अवस्था छैन । अहिले लगानीकर्ताले आफ्नो मोबाइल, ल्यापटप वा कम्प्यूटरबाट पनि डिम्याट खाता तथा मेरो शेयरको खाता नविकरण गर्न सक्छन् । विद्युतीय भुक्तानी माध्यमहरुबाट लगानीकर्ताले सजिलैसँग डिम्याट नविकरण शुल्क तिर्न सक्छन् ।

डिम्याट खाता कहिले नविकरण गर्ने थाहा पाउने तरिका:

विभिन्न बैंक तथा क्यापिटलहरुले डिम्याट खाता कहिलेसम्म नविकरण गर्ने सूचना प्रकाशित गरिरहेका छन् । डिम्याट खाता प्रत्येक आवको अन्त्यसम्ममा नविकरण गरिसक्नुपर्छ भने मेरो शेयर आफुले संचालन गरेको मितिले एक वर्षसम्ममा नविकरण गर्नुपर्दछ । यसका अलावा मेरो शेयर लगइन गरी आफ्ना प्रोफाइलमा गई अकाउन्ट इन्फरमेशनमा गएर पनि पनि मेरो शेयर र डिम्याट खाताको संचालन मिति र नविकरण मिति हेर्न सकिन्छ । लगानीकर्ताले नविकरण सकिने मिति भन्दा अघि नै नविकरण गर्नुपर्ने हुन्छ ।

नविकरण कसरी गर्ने ?

नयाँ तथा पुराना लगानीकर्ताले डिम्याट तथा मेरो शेयर संचालन गरेवापत वार्षिक शुल्क तिर्नैपर्ने हुन्छ । भर्खरै डिम्याट खोलेका व्यक्तिले पनि डिम्याट खाता नविकरण शुल्क तिर्नुपर्ने हुन्छ । मेरोशेयरको भने एक वर्ष अवधि पुगेपछि मात्र नविकरण गनुपर्ने हुन्छ ।

 

पहिले निक्षेप सदस्यहरुको कार्यालय वा बैंक तथा वित्तीय संस्थामा गएर डिम्याट नविकरण शुल्क तिर्नुपर्ने प्रावधान थियो । तर पछिल्लो समय डिम्याट तथा मेरो शेयर नविकरणका लागि निक्षेप सदस्यहरुको कार्यालय तथा बैंक वित्तीय संस्था तथा वालेट पे मार्फत पनि सजिलै नविकरण शुल्क तिरेर डिम्याट वा मेरोशेयर नविकरण गर्न सक्ने व्यवस्था मिलाइएको छ । त्यसका साथै पछिल्लो समयको पूँजीबजार प्रविधिमैत्री भएकाले विभिन्न विद्युतीय भुक्तानी माध्यमहरु आइएमई–पे, ई–सेवा, खल्ती, कनेक्ट आईपीएस, प्रभु पेबाट पनि तिर्न सकिने व्यवस्था छ । केही मर्चेन्ट बैंकहरुले बैंक मार्फत हुने भुक्तानीलाई पनि स्वीकृत गर्ने गरेका छन् ।

लगानीकर्ताहरुले एक वर्ष देखि ५ वर्षसम्मका लागि डिम्याट शुल्क तिर्न सकिने प्रावधान रहेको छ । कोभिड महामारीमा बैंक तथा क्यापिटलसम्म धाउन नपर्ने र लगानीकर्तालाई सजिलै घरैबाट भुक्तानी गर्न सकिने हेतुले वालेट पेमेन्टको पनि व्यवस्था ल्याइएको हो ।

विद्युतीय माध्यमबाट नविकरण गर्ने विधिः

लगानीकर्ताले मेरोशेयरको आफ्नो प्रोफाइलमा गई अकाउन्ट इन्फरमेशन अन्तर्गत तलपट्टि रहेको रिन्यू अकाउन्टमा जानुपर्दछ । त्यसपछि त्यहाँ उपलब्ध रहेका विद्युतीय भुक्तानी माध्यमहरु मध्ये आफुले तिर्न चाहेको माध्यम छान्ने । त्यसपछि ई–सेवा, खल्ती, प्रभु–पे, कनेक्ट आईपिएस र आइएमई पे जुनसुकै छानेपछि त्यहाँ मेरो शेयर एण्ड डिम्याट/मेरोशेयर/डिम्याट छुट्टाछुट्टै अपसन आउँछ । यदि लगानीकर्ताले मेरोशेयर र डिम्याट दुवै रिन्यू गर्नुपर्ने छ भने दुवै भएकोमा सेलेक्ट गर्नुपर्छ र मेरोशेयर र डिम्याट छुट्टाछुट्टै रिन्यू गर्नुपर्ने छ भने जे हो त्यसमा टिक मार्क लगाई प्रोसिड गर्नुपर्दछ ।

 

त्यसपछि सम्बन्धित विद्युतीय माध्यमको आइडी र पासवर्ड राख्नुपर्दछ । लगइन भएपछि नविकरण शुल्क १०० रुपैयाँ राखेर कन्फर्म गरी डिम्याट वा मेरो शेयरको नविकरण शुल्क तिरी नविकरण गर्न सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*