बैंकिङ व्यवसायमा एनआईसी एसियाको छलाङ, स्टाण्डर्ड चार्टर्ड र एसबीआई बैंकको व्यवसाय घट्यो

२६ असार २०७८, शनिबार १३:३१

काठमाडौं । बाणिज्य बैंकहरु मध्ये देशको सबैभन्दा ठूलो बैंक बन्ने अभियानमा रहेको एनआईसी एसिया बैंकले जेठ महिनामा सबैभन्दा धेरै व्यवसाय विस्तार गर्न सफल भएको छ ।

बैंकर्स संघले उपलब्ध गराएको बाणिज्य बैंकहरुको तथ्याङ्कमा एनआईसी एसियाको व्यवसाय सबैभन्दा धेरै देखिएको हो । बैंकले गत वर्ष जेठको तुलनामा चालु आवको समीक्षा अवधीमा ४४.१ प्रतिशतले व्यवसाय बढाउन सफल भएको छ ।

एनआईसी एशियाको जेठसम्ममा तीन खर्ब तीन अर्ब ९० करोड ३० लाख रुपियाँ निक्षेप संकलन भएको छ । गत वर्ष जम्मा दुई खर्ब १० अर्ब ८४ करोड ३० लाख रुपियाँ निक्षेप संकलन गरेको बैंकले यस वर्ष उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको हो ।

त्यस्तै, व्यवसाय बृद्धि गर्नेहरुमा सिभिल बैंक पनि रहेको छ । सो बैंकले नेपालमा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकसँगको तुलनामा सबैभन्दा बढि व्यवसाय बढाउन सफल भएको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको जेठसम्मको तथ्यांकले अन्य बैंकसँगको निक्षेप संकलनको तुलनामा सिभिल बैंकको निक्षेप सबैभन्दा धेरै प्रतिशतले बढेको छ ।

बैंकले जेठ २०७७ को तुलनामा जेठ २०७८ मा ४७.९ प्रतिशतले व्यवसाय बढाएको नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । बैंकले जेठसम्मको एक वर्षमा २८ अर्ब ७९ करोड ५० लाख रुपियाँले निक्षेप बढाएको छ । चालु आवको जेठ महिना सम्ममा ८८ अर्ब ९३ करोड ८० लाख रुपियाँ निक्षेप संकलन गरेको छ । गत वर्ष जेठमा भने ६० अर्ब १४ करोड ३० लाख रुपियाँ मात्रै रहेको थियो ।

बैंकर्स संघको तथ्याङ्क अनुसार स्टाण्डर्ड चार्टर्ड बैंक र एसबीआई बैंकमा निक्षेप घटेको छ । स्टाण्डर्ड चार्टर्डले गत वर्षको जेठ सम्ममा ९९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा चालु आवको जेठ २०७८ मा जम्मा ८७ अर्ब ८८ करोड ५० लाख रुपियाँ मात्रै निक्षेप संकलन गरेको छ । त्यस्तै नेपाल एसआिई बैंकको निक्षेप पनि घटेको छ । गत आवको जेठमा एक खर्ब १० अर्ब रुपैयाँ निक्षेप रहेको बैंकमा चालु आवको जेठसम्म आइपुग्दा जम्मा एक खर्ब आठ अर्ब रुपैयाँ मात्रै निक्षेप रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*