आरम्भ चौतारीको नाफामा १२ करोड माथि, अन्य सूचांक उत्साहप्रद

२० श्रावण २०७८, बुधबार ०७:४२

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको मुनाफा ३९० प्रतिशतले बृद्धि भई झण्डै १२ करोड पुगेको छ । कम्पनीको मुनाफामा उल्लेख्य बृद्धि हुँदा प्रतिशेयर आम्दानी लगायतका सूचांकहरुमा उत्साहजनक प्रगति देखिएको छ ।
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै प्रकाशित वित्तीय विवरणमा कम्पनीले छलाङ मार्न सफल भएको देखिएको छ ।

कम्पनीले आव २०७६।७७ मा दुई करोड ४० लाख ४० हजार खुद मुनाफा आर्जन गरेकोमा गत आवमा ११ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९०.५७ प्रतिशत बढी हो । कम्पनीले दुई करोडभन्दा बढि खराव कर्जा उठाएर राईट गर्न पाउँदा र सञ्चालन मुनाफा ११० प्रतिशतले बृद्धि हुँदा उक्त प्रगति हासिल गरेको वित्तीय विवरणमा देखिएको छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११०.९८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३६०.५२ प्रतिशत बढेको छ । लघुवित्तले असार मसान्तसम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा २ करोड ९० लाख रुपैयाँ छुट्याएको छ भने २ करोड ८३ लाख रुपैयाँ खराब कर्जा उठाएका कारण कम्पनीको वित्तीय विवरणको स्वरुप नै परिवर्तन गर्न सफल भएको हो ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २८ करोड ६७ लाख ६३ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष १३२.५५ प्रतिशत बढेको छ । लघुवित्तको सापटी समीक्षा अवधिमा ९५.०६ प्रतिशत बढेको छ भने निक्षेप ४३.५८ प्रतिशत र कर्जा ७१.७८ प्रतिशत बढेको देखिएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी गत आवमा मात्रै ३२ रुपैयाँ बढेर कूल ४१ रुपैयाँ १३ पैसा कायम भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ३८.२७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ६ पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*