स्वाभिमान लघुवित्तले गर्यो प्रगति, प्रतिशेयर आम्दानी ६० रुपैयाँ माथि अन्य सूचांक कस्तो ?

२१ श्रावण २०७८, बिहीबार ०७:१८

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । मुनाफा उल्लेख्य मात्रामा बृद्धि हुँदा कम्पनीको प्रतिशेयर आम्दानी ६० रुपैयाँ माथि पुगेको छ ।

सो लघुवित्तले आज प्रकाशन गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ५ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५५.३१ प्रतिशत बढी मुनाफा आर्जन गर्न सफल भएको छ ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५५.४३ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ४३.२८ प्रतिशत बृद्धि हुँदा मुनाफा बढेको हो । सो अवधिमा स्वाभिमान लघुवित्तको सञ्चालन मुनाफा ८९.१९ प्रतिशत बढेको छ । साथै कम्पनीले ३ करोड ९७ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएकोले पनि मुनाफा बृद्धि भएको देखिएको छ ।

सो लघुवित्तको जगेडा कोष ४६४.९२ प्रतिशत बढेर ६ करोड ६९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा लघुवित्तको यस्तो कोषमा एक करोड १८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा लघुवित्तको सापटी ६७.६३ प्रतिशत बढेको छ भने निक्षेप ३८.८७ प्रतिशत र कर्जा लगानी ४७.१६ प्रतिशत बढेको छ ।

स्वाभिमान लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ९४ पैसा बढेर ६० रुपैयाँ ७३ पैसा पुगेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी जम्मा २३ रुपैयाँ मात्रै थियो । लघुवित्तको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.३ गुणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*