चन्द्रागिरी हिल्समा लगानीकर्ता डुब्दै, वित्तीय विवरणमा प्रतिशेयर आम्दानी र रिजर्ब कोष दुवै ऋणात्मक

२५ श्रावण २०७८, सोमबार १०:०३

काठमाडौं । कोरोना महामारीका कारण होटल क्षेत्र तथा पर्यटन क्षेत्र बेस्सरी प्रभावित हुँदा चन्द्रागिरी हिल्स लिको वित्तीय विवरणले लगानीकर्ताहरुलाई निराश पार्ने भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणले सो कम्पनीले अझै कैयौं वर्ष लाभांश दिन नसक्ने संकेत गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार चन्द्रागिरी हिल्सले २५ करोड ३८ लाख ४२ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । कूल एक अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजि भएको कम्पनीको घाटा निरन्तर बढ्दै जाँदा कम्पनी थप संकटमा पर्ने देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नोक्सानी १० करोड ६६ लाख रुपैयाँ रहेकोमा अहिले उक्त घाटा ह्वात्तै बढेको हो । कोरोना महामारी नरोकिएको सन्दर्भमा घाटा अझै बढ्ने अनुमान गरिएको छ ।

यद्यपि कम्पनीले कोरोना महामारीकै बीचमा पनि २१ करोड रुपैयाँ आम्दानी गरेको देखाइएको छ । समीक्षा अवधीमा कम्पनीको ऋण र सम्पत्तिको अनुपात २.१४ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी –१६.५५ रुपैयाँ रहेको छ । अर्थात कम्पनीका लगानीकर्ताहरुले १०० रुपैयाँको मूल्यको शेयरबाट १६.५५ रुपैयाँ घाटा व्यहोरिएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ७४.३५ रुपैयाँ छ । साथै प्रतिशेयर कूल सम्पत्तिको मूल्य भने अझै २४२.८४ देखाइएको छ ।

शेयर माफियाको कारण उच्च बिन्दुमा पुगेको चन्द्रागिरी हिल्सको धितोपत्र बजारमा १०० रुपैयाँ अंकित शेयरको मूल्य दुई हजार ६२८ रुपैयाँसम्म पुगेको थियो । चन्द्रागिरी हिल्सको ठूलो शेयर हिस्सा व्यवसायी चन्द्र ढकालसँग रहेको छ । सो कम्पनीको शेयरबाट व्यवसायी चन्द्र ढकालले ठूलो मात्रामा ऋण लिएको र सोको भ्यालु बढाउन शेयर माफियासँग मिलेर सेटिङमा कम्पनीको वास्तविक अवस्थाभन्दा शेयरको मूल्य निकै उच्च बनाइएको थियो । उक्त घटनामा को को संलग्न छन् नेप्से तथा सेबोनको छानविनको विषय हुनसक्दछ ।

चन्द्रागिरी हिल्स काण्डमा नेपाली शेयर बजारको नियमनकारी निकाय सेबोनमाथि गम्भिर प्रश्न चिन्ह उठेको छ । निरन्तर घाटामा रहेको, आम्दानी र कोष ऋणात्मक रहेको कम्पनीको शेयर मूल्य अझै कसरी १५८८ रुपैयाँ छ ? चन्द्रागिरी हिल्स काण्डभित्र धितोपत्र नियमन सम्बन्धी निकाय सेबोनको अनुहार झल्किन पुगेको छ ।

नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले माओवादीसँगको राजनीतिक पहुँचको आधारमा सार्वजनिक जंगल फाडेर बनाएको चन्द्रागिरी हिल्सका विरुद्धमा पर्न सक्ने जंगल विनास सम्बन्धी मुद्दाहरु बाँकी नै छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*