बजारमा नक्कली नोट बिगबिगी, रौतहट १० लाखको नक्कली नोट सहित ३ जना पक्राउ

२५ श्रावण २०७८, सोमबार २३:१४

काठमाडौं । यदि तपाई नोट लिएर कारोबार गर्दै हुनुहुन्छ भने नक्कली नोटको फन्दा पर्न सक्नु हुने भएको छ । कोरोना महामारीको मौका छोपेर नक्कली नोटका कारोबारीहरु बजारमा धमाधम नक्कली नोटको कारोबार गरिरहेको तथ्य उजागर भएको छ । आज १० लाख नक्कली नोट सहित रौतहट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर ४ स्थित कालिमन्दिर नजिकैबाट प्रहरीले उनीहरुलाई १० लाख रुपैयाँ नक्कली नोटसहित नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सो स्थानबाट धनुषाको बट्टेश्वर गाउँपालिका वडा नम्बर ४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरीको बर्दीबास बस्ने ३० वर्षीय रन्जित महत्तो र भंगहा नगरपालिका वडा नम्बर ४ निवासी २५ वर्षीय दिपेन्द्रकुमार महत्तो पक्राउ गरिएको छ ।

शंकास्पद अवस्थामा हिडिरहेको उनीहरुलाई गस्तीमा रहेको प्रहरी टोलीले चेकजाँच क्रममा नौ लाख ९३ हजार नक्कली नोट फेला परेको थियो । निजहरुले उक्त नोट बजारमा पठाउने तयारी गरिरहेका थिए । नोट भारतमा छापिएको आशंका गरिएको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*