बीमा व्यवसाय तहस-नहस पार्ने सूर्य सिलवाल बीमा समितिको अध्यक्ष पदबाट राजिनामा देऊ

१६ मंसिर २०७८, बिहीबार १३:१७

सम्पादकीय

बीमा क्षेत्रको नियामक निकाय बीमा समिति यतिबेला विवादमा तानिएको छ । यही मंसिर ९ गते बीमा समितिले जारी गरेको सबै बीमा कम्पनी पुनर्बीमा नेपालमै गर्नुपर्ने र विदेशमा गर्नुपरेमा दुई पुनर्बीमा कम्पनीको स्वीकृति अनिवार्य रुपमा लिनुपर्ने निर्देशनले सिंगो बीमा क्षेत्र स्तब्ध बन्न पुगेको छ । बीमा समितिका अध्यक्ष सूर्य सिलवालले सञ्चालक समितिको बैठकमा कीर्ते गरी, निर्णयको माईन्यूटको समेत दुरुपयोग गरी हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई जबरजस्ती पुनर्बीमा व्यवसाय दिनैपर्ने नियम बीमा व्यवसायको लागि घातक मात्रै छैन, बीमाको सिद्धान्त मूल्य र मान्यता विपरित छ ।

बीमा समितिको अध्यक्ष पदमा नियुक्त भएर आएदेखि नै बीमा क्षेत्रको विकास र समृद्धि भन्दा पनि व्यक्तिगत लाभको लागि, दलाल, माफियाको लागि काम गर्दै आएका सूर्य प्रसाद सिलवालका कारण यतिबेला नेपाली बीमा क्षेत्र धरासायी बन्ने दिशातर्फ अग्रसर छ । बीमाको सामान्य सिद्धान्त समेत थाहा नपाएका, उद्योग मन्त्रालयलगायतका केही मालदार मन्त्रालयमा रहेर काम गरेका पूर्व सचिव सूर्य प्रसाद सिलवाललाई तत्कालिन केपी ओली सरकारले ठूलो रकम लेनदेन गरेर बीमा समितिमा अध्यक्ष बनाएर पठाएको थियो । बीमा समितिमा अध्यक्ष बनेर आएपछि सिलवालले विवादास्पद व्यक्ति तथा थर्मल गन तस्करी गर्दा गर्दै रंगेहात पक्राउ परेका सुलभ अग्रवाल मुख्य शेयरधनी रहेको हिमालयन रिलाई पुनर्बीमाको लाईसेन्स दिएका थिए । सो काण्डमा तीन अर्बभन्दा बढि घुस खाएको आरोपमा सिलवालका विरुद्धमा भ्रष्टाचार सम्बन्धी नियामक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी अझै टुंगिसकेको छैन ।

अध्यक्ष सिलवालको भ्रष्टाचार यतिमा मात्रै रोकिएन । बीमा अभिकर्ताले लिएको ऋण तीन महिनामा असुल गर्न कडा फर्मान जारी गरे । अभिकर्ताले बीमा कम्पनीसँग केही वर्षका लागि करार सम्झौता गरेर लिएको ऋण तत्काल भुक्तानी गर्नुपर्ने व्यवस्थाले कैयौं बीमा अभिकर्ता पलायन भए । उनले नेपालमै नभएको चार्टर्ड एकाउन्टेन्टको रोष्टर बनाउने प्रयत्न गरे । जसमा हरेक चार्डर्ड एकाउन्टेन्टसँग लाखौं रुपैयाँ घुस मागिएको थियो । सो प्रकरणमा पछि अप्ठेरो पर्ने भएपछि मोडालिटी परिवर्तन गरी घुस सेटिङ गरियो । अहिले बीमा कम्पनीहरुले व्यवसाय दिनै नमिल्ने हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई सबै व्यवसाय अनिवार्य रुपमा दिनुपर्ने गरी मंसिर ९ गते पुनर्बीमा सम्बन्धी निर्देशन जारी गरियो । आफैले लाईसेन्स दिएको कम्पनी हिमालयन रिले नेपालमा व्यवसाय पाएन । त्यस्तो अवस्थामा उनले सञ्चालक समितिको माईन्यूट कीर्ते गरेर सबै बीमा कम्पनीहरुले पुनर्बीमा व्यवसाय नेपालमै गनुपर्ने निर्णय गरे । उक्त निर्णय अक्षरस पालना भएमा नेपालमा कसैले पनि बीमा गर्नुको अर्थ हुँदैन किनभने कोरोना बीमा र अब गरिने बीमाको स्वरुप एउटै हुनेछ । यसले बीमा व्यवसाय धरासायी मात्रै हुँदैन । बीमितले बीमा दावी भुक्तानी नपाएर बीमा समिति नै घेराउ गर्नुपर्ने अवस्था आउन सक्नेछ ।

नयाँ सरकार बन्यो, उनलाई चलाउने मन्त्रालयमा तुलनात्मक रुपमा इमान्दार मन्त्री समेत आए । तर, भ्रष्टाचार, नैतिकताहिन, सेटिङ गर्ने कार्यमा संलग्न सिलवालको कार्यशैलीमा कुनै पनि परिवर्तन नआउनु नेपाली बीमा क्षेत्रका लागि दूर्भाग्यपूर्ण छ । नेपालमा बीमा व्यवसाय गर्दै आएका १९ वटै जीवन बीमा कम्पनी, २० वटै निर्जिवन बीमा कम्पनी, बीमा समितिका इमान्दार सबै कर्मचारीहरु, अर्थमन्त्रालयका इमान्दार नेतृत्व बीमा समितिका अध्यक्ष सूर्य सिलवालले गरेको अनैतिक, भ्रष्टाचारजन्य र बीमाको सामान्य सिद्धान्तभन्दा विपरितका कार्यप्रति असन्तुष्ट छन् । स्वतन्त्रपूर्वक आफ्नो अभिव्यक्ति राख्न पाउने, स्वतन्त्रपूर्वक व्यवसाय गर्न पाउने संविधान प्रदत्त हकलाई समेत सूर्य सिलवालले धम्की, दवाव दिएर रोक्ने प्रयासहरु गर्दैछन् ।

नियामक निकायमा स्वतन्त्र, निष्पक्ष र पारदर्शी व्यक्तित्व हुनु जरुरी छ । माफियासँग अर्बौ घुस लिएको आरोप लागेका, पैसाको लागि र्याल चुहाउँदै नियम, कानुनलाई धोती लगाउने सूर्य सिलवाल जस्ता पात्रका लागि योग्य ठाउँ बीमा समिति होइन । देशको अर्थतन्त्रको मेरुदण्ड रहेको बीमा क्षेत्रको भविष्यलाई जोखिममा पार्ने, बीमितले बीमा गर्ने अवस्था नै अन्त्य गर्ने, सूर्य सिलवाल जतिदिन बीमा समितिमा बस्छन्, नेपाली बीमा क्षेत्रले सास्ती, हैरानी र नोक्सानी नै व्यहोर्नुपर्ने कुरा अब दुई मत रहेन । कोरोना महामारीमा थर्मल गन तस्करीमा संलग्न अभियुक्तलाई पुनर्बीमाको लाईसेन्स दिएर सिंगो बीमा क्षेत्र बद्नाम गर्ने, घुस सेटिङमा संलग्न सिलवाल अहिले पुनः कमिशनको लागि हिमालयन रि इन्स्योरेन्सलाई पुनर्बीमा व्यवसाय दिन अनिवार्य गर्ने जस्तो घृणित कार्यमा संलग्न हुनुले उनी अब बीमा समितिको अध्यक्ष पदमा रहिरहन योग्य रहेनन् । उनको सम्मानजनक बहिर्गमन सिंगो बीमा क्षेत्रको आवश्यकता र अपरिहार्यता हुन आएको छ ।

त्यसैले, बीमा क्षेत्रको समग्र विकास, बीमा क्षेत्रको दीगो विकास र स्थायित्वको पक्षमा वकालत गर्ने प्रतिबद्धतासहित स्थापना भएको बीमापोष्ट सम्पादकीयमार्फत बीमा समितिका अध्यक्ष सूर्य सिलवाललाई तत्काल पदबाट राजिनामा दिन र आफूले गरेका अपराधहरु सच्याउन दृढतापूर्वक आह्वान गर्दछ ।

2 thoughts on “बीमा व्यवसाय तहस-नहस पार्ने सूर्य सिलवाल बीमा समितिको अध्यक्ष पदबाट राजिनामा देऊ

  1. होम आले says:

    यो सम्पादकीयमा भएको बिचार प्रति मेरो नि सहमत छ घुसको पछाडि लागे कै हो सुर्य प्रसाद सिलबाल

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*