बीमाको सरेन्डर रेसियो १० प्रतिशत तलै, बीमाको पहुँच र व्यवसाय बृद्धि हुँदा सरेण्डरको आकार बढ्यो

रिना खत्री
२४ श्रावण २०७९, मंगलवार १२:४९

काठमाडौं । नेपाली बीमा बजारमा बीमाको दायरा बढेसँगै पोलिसी सरेण्डर (समर्पण/त्याग) गर्ने दर बढ्दै गएको छ । बीमाको दायरा र व्यवसायमा उच्च बृद्धिभएकोले पोलिसी सरेण्डर बढ्नु स्वभाविक नै रहेको बीमा विज्ञहरुको धारणा रहेको छ ।

सरकारको ३३ प्रतिशत बीमाको दायरा पुराउने लक्ष्य यो आर्थिक बर्षमा पूरा भईसकेको छ । बीमालाई दूरदराजसम्म पुराउन बीमा समिति एवं बीमा कम्पनीहरुले जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । उक्त कार्यक्रमले समेत बीमाको दायरा विस्तारमा थप मद्दत गरेको छ । बीमाको दायरा विस्तारमा बीमा समितिको मात्रै नभई सबै बीमा कम्पनीहरुको भूमिक उत्तिकै रहेको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल बताउँछन् ।

जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षमा एक खर्ब ३९ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जसमध्ये १२ अर्ब १८ करोडको पोेलिसी त्याग भएको छ । बीमा समितिको तथ्याङ्क अनुसार कुल बीमाशुल्क आर्जनको ९.४४ प्रतिशत पोेलिसी सरेन्डर भएको देखिन्छ । कुल प्रिमियममा १० प्रतिशतभन्दा कम बीमा पोलिसी त्याग हुनु स्वाभिक नै रहेको बीमा अधिकारीहरु बताउँछन् । विगतका वर्षहरुमा पनि सरेन्डर र कूल बीमा शुल्कको अनुपात १० प्रतिशत हाराहारीमै हुने गरेकोले यस वर्षको सरेन्डर डराउनुपर्ने अवस्थामा नरहेको बीमित हित संरक्षण संघका महासचिव बलराम श्रेष्ठ बताउँछन् ।

बीमा समितिको आकँडा अनुसार गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा मात्रै बीमितहरुले ८१ हजार ८३० वटा बीमा पोलीसीबाट १२ अर्ब १८ करोड ८ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको हो । नेपालमा संचालित १९ बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी नेपाल लाइफको बीमितले बीमा पोलिसी त्यागेका छन् । नेपाल लाइफ देशकै ठूलो र सबैभन्दा धेरै बीमा पोलिसी भएको कम्पनी हो ।

अघिल्ला आर्थिक बर्षहरुमा पनि सबैभन्दा धेरै प्रिमियम संकलन गर्ने बीमा कम्पनीहरुमा सरेण्डर बढी भएको देखिने गरेका थिए । नेपालमा मात्रै नभई अन्तराष्ट्रिय तथ्याङ्क हेर्ने हो भने पनि बढी प्रिमियम संकलन गर्ने बीमा कम्पनीहरुमा नै सरेण्डरको सङख्या बढी रहेको हुन्छ ।बीमा अभिकर्ताले बीमालेख बिक्री गर्दा बीमितलाई राम्रोसँग बुझाउन नसक्दा पोलिसी सरेण्डरको मात्रा बढेको समितिले बताउँदै आएको छ। र, यस्तो दर रोक्नका लागि पहल भइरहेको समितिको भनाई छ।

ऐनमै बीमा पोलिसी सरेण्डर गर्न पाउने व्यवस्था रहँदा यस्तो दर बढेको सरोकारवालहरुको भनाई छ । पोलिसी सरेण्डर गर्दा बीमितका साथै बीमा कम्पनीलाई समेत घाटा पर्ने बीमा विज्ञ भोजराज शर्मा बताउँछन् । तर, बीमा बचत भएकोले सरेन्डरलाई नाफा घाटासँग जोड्न नहुने बरु बीमितको हितको पक्षमा हेर्नुपर्ने नेपाल बीमित हित संरक्षण संघका महासचिव बलराम श्रेष्ठ बताउँछन् । उनले भने बीमा बचत हो भने सरेन्डर अर्थात बचत फिर्ता हुन्छ । ‘बीमा रकम बीमा कम्पनीले फिर्ता नगर्ने शर्तमा लिएको भए जस्तोसुकै नियम बनाए पनि फरक पर्दैन ।’ महासचिव श्रेष्ठले भने।

बीमालेख सरेण्डर गर्ने प्रवृत्ति नेपालमा मात्रै नभई संसारभरी नै छ । बीमालेख खरिद गर्नुपूर्व नै आफ्नो आय, आम्दानीलाई मध्यनजर गरेर आफुलाई सुहाँउदो बीमा पोलिसी खरिद गर्दा भने सरेण्डरको समस्या नआउने बिज्ञ शर्माको भनाइ छ । व्यक्तिको आयस्रोतलाई मध्यनजर नगरी क्षमताभन्दा बढी रकमको बीमा गर्दा सरेण्डरको दर बढ्ने गरेको उनको तर्क छ । बीमा गर्नुपूर्व नै आर्थिक स्थितिलाई असर नपर्ने गरी सो रकमले उक्त बीमालेखलाई निरन्तरता दिनसक्ने गरी बीमालेख खरिद गर्यो भने सरेण्डरको मात्रा कम हुने उनको बुझाई छ।

पछिल्लो समय बीमालेख सरेण्डर हुनुको मुख्य कारणको रुपमा आर्थिक संटक लिइएको छ । बीमा बचत समेत भएकोले फिर्ता लैजान पाउने तथा आर्थिक संकट बढेकोले बीमाशुल्क भुक्तानी गर्न असमर्थ भई बीमालाई निरन्तरता दिन नसक्ने अवस्था आएकोले पनि सरेन्डर गर्ने बढेको विश्वास गरिएको छ।

‘आर्थिक संकट पर्यो भन्दै पोलिसी सरेण्डर गर्छुभन्दा बोल्नै मिल्दैन,’ उनले भने, ‘सरेण्डर गर्ने चलन संसार भरिनै छ, कानुनले नै सरेण्डर गर्न पाउने व्यवस्था गरेको छ ।’ तर, सरेण्डरको दर धेरै भयो भने अध्ययन गर्नुपर्ने उनी बताउँछन् । सरेण्डरको दर रोक्नका लागि बीमा अभिकर्ताको महत्वपूर्ण भूमिका रहने उनको बुझाइ छ । अभिकर्ताले बीमितको आर्थिक अवस्था तथा बीमितको आवश्यकता अनुसारको बीमालेख बेच्नुपर्ने उनी बताउँछन्।

बीमाको दायरा बढ्दै गएसँगै पोलिसी सरेण्डरको दर बढ्दै गएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘गत आवको सरेण्डरको दर बढी देखिएको थियो, कम्पनीहरुलाई रोक्नु भनेपछि कम भएको छ, एकैचोटी घट्ने कुरा पनि भएन,’ पौडेलले भने । बीमा योजनाका बारेमा जानकारी नलिई पोलिसी खरिद गर्दा सरेण्डर गर्ने उनले बताए । ‘बीमितले पहिले बीमा गर्छन्, पछि पैसा तिर्न गाह्रो पर्छ, त्यो कारणले सरेण्डर हुन्छ,’ उनले थपे । रकम र संख्यामा बृद्धि देखिए पनि अनुपातमा भने बीमा सरेन्डर घट्ने क्रममा रहेको कार्यकारी निर्देशक पौडेलले बताए।

ऐनमा बीमितले बीमालेख खरिद गरेको मितिले तीन वर्ष पूरा भएपछि बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था छ । बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग गर्न पाउने व्यवस्थालाई परिमार्जन गर्दै समितिले सरेण्डरमा नयाँ नियम लागू गरेको छ।

समितिले जीवन बीमालेख सम्बन्धि निर्देशिका २०७८ जारी गर्दै बीमालेख समर्पणमा नयाँ व्यवस्था कामय गरेको हो । समितिले कायम गरेको नयाँ व्यवस्था बमोजिम बीमितले तीन वर्षसम्म पोलिसी समर्पण गर्न नपाउने व्यवस्था छ । समितिले बीमा कम्पनीहरुमा एकल बीमालेखमा देखिएका वेतिथि रोक्नका लागि भन्दै यस्तो व्यवस्था कायम गरेको थियो । बीमा समितिद्धारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिकामा बीमालेख समर्पण सम्बन्धी व्यवस्था गरिएको छ । बीमा प्रारम्भ मितिबाट तीन वर्ष पूरा भएपछि बीमालेख समर्पण गर्नसक्ने व्यवस्था छ ।

गत वर्ष मात्रै दुई वर्षबाट सेरेन्डर अवधी तीन वर्ष बनाएको बीमा समितिले सोको प्रभाव मूल्याङ नगरी हचुवाकै भरमा पाँच वर्ष बनाउने चर्चा बीमा समितिभित्र चल्न थालेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*