निर्जीवन बीमा कम्पनीहरुको वित्तीय विवरणको मुनाफा अडिट पश्चात संशोधन, कसको घट्यो कसको बढ्यो ?

रिना खत्री
१४ चैत्र २०७९, मंगलवार १२:४०

काठमाडौं । अधिकांश बीमा कम्पनीहरुले सार्वजनिक गर्ने अपरिष्कृत वित्तीय विवरण र नेपाल सरकारले तोकेको मापदण्ड एनएफआरएस अनुसारको वित्तीय विवरणमा फरक फरक देखिने गर्दछ । सबै बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा जोखिम समायोजन गर्दा फरक पर्न जाने गर्दछ । तर, जोखिमको सही तरिकाले विश्लेषण र प्रोभिजन नगरिएको अवस्थामा ल्याट (बीमाङ्कीय मूल्याङ्कन) पश्चात लेखापरिक्षण गर्दा मुनाफा फरक पर्ने गरेको छ ।

गत आवको अन्त्य अर्थात २०७९ मसान्तसम्मको वित्तीय विवरणमा उल्लेख भएको मुनाफा र लेखापरिक्षणको मुनाफामा ठूलो अन्तर हुने गरेको देखिएका छ । सो क्रममा आठ वटा निर्जीवन बीमा कम्पनीहरुको मुनाफा घटेको छ भने पाँच वटा बीमा कम्पनीको मुनाफा बृद्धि भएको छ । कूल १३ वटा बीमा कम्पनीहरुले तीन अर्ब ४२ करोड २२ लाख रुपैयाँ कूल मुनाफा वित्तीय विवरणमार्फत सार्वजनिक गरेकोमा लेखा परिक्षणको क्रममा तीन अर्ब ३६ करोड ३० लाख रुपैयाँ मुनाफा कायम भई सो अनुसार लाभांश समेत वितरण गरेका छन् । समग्रमा घोषित मुनाफा भन्दा पाँच करोड मात्रै फरक परेको छ ।

कम्पनीहरुको मुनाफा वित्तीय विवरण र लेखा परिक्षणमा फरक हुनुमा कम्पनीभित्रको संस्थागत सुशासनमा समस्या रहेको नेपाल बीमा प्राधिकरणको भनाई छ ।
बीमा कम्पनीहरुले प्रभावकारीरुपमा आन्तरिक लेखापरीक्षण नगर्दा बार्षिक विवरणमा प्रकाशित विवरण र अन्तिम लेखापरीक्षण प्रतिवेदनको वित्तीय विवरण फरक हुने बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल बताँउछन् ।

बीमा कम्पनीहरुले कम मात्रै प्रोभिजन गर्ने गर्छन्, जसले गर्दा आम्दानी बढेको देखिन्छ,’ बीमा प्राधिकरणका एक अधिकारी भन्छन्,‘३/४ प्रतिशतले नाफा फरक पर्ने खासै ठूलो विषय होइन । सार्वजनिक भएको वित्तीय विवरण र अन्तिम प्रतिवेदनमा धेरै ठूलो फरक हुनुको अर्थ कम्पनीको व्यवस्थापनले सेयरधनीलाई बास्तविक तथ्यांक नदिए जस्तो लाग्छ ।’

नेप्सेमा सूचीकृत १३ निर्जीवन बीमा कम्पनीको अपरिष्कृत तथ्यांक र एनएफआरएसमा अन्तर देखिएको सम्बन्धीमा नेपाल बीमा प्राधिकरणको ध्यानाकर्षण भएको कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् ।
तथ्यांक अनुसार आर्थिक बर्ष २०७८।७९ सम्ममा एनएफआरएस पश्चात् शिखरको वास्तविक मुनाफा ८.९५ करोड रुपैयाँले घटेको छ । वित्तीय विवरणमा ४० करोड १४ लाख मुनाफा कमाएको कम्पनीमा लेखा परिक्षणको क्रममा घटेर ३१ करोड १९ लाखमा सीमित हुन पुगेको छ । त्यस्तै, लुम्विनी जनरल इन्स्योरेन्स कम्पनी आर्थिक बर्ष ७८।७९ को मसान्तसम्ममा १८ करोड ७३ लाख रुपैयाँ मुनाफा देखाएकोमा एनएफआरएसपछि घटेर १३ करोड १२ लाख रुपैयाँमा सिमित भएको छ । एनएफआरएसपश्चात् कम्पनीको मुनाफा ५ करोड ६१ लाख रुपैयाँले घटेको छ ।

त्यस्तै, प्रिमियर इन्स्योरेन्स कम्पनीको वास्तविक मुनाफा २३ करोड १४ लाख रुपैयाँ रहेको देखिएको छ । एनएफआरएस ३६ करोड रुपैयाँ नाफा गरेको कम्पनीको नाफा ३ करोड ९० लाख रुपैयाँले घटेको छ । २०७९ असार मसान्तसम्मको वित्तीय विवरणमा ४० करोड २२ लाख रुपैयाँ मुनाफा देखिएको सगरमाथा इन्स्योरेन्सको ल्याट पश्चात गरिएको अडिटमा ३ करोड १४ लाख रुपैयाँले घटेर ३७ करोड रुपैयाँमा सीमित भएको छ ।
त्यस्तै, १७ करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको आइएमई जनरल इन्स्योरेन्सको एनएफआरएसपछि २ करोड २९ लाख रुपैयाँले घटेर १४ करोड ८३ लाख रुपैयाँमा सीमित, एनएलजी इन्स्योरेन्सको मुनाफा एनएफआरएस पश्चात २ करोड २७ लाख रुपैयाँले घटेर १४ करोड ८३ लाख रुपैयाँमा कायम भएको छ । त्यस्तै, पु्रडेन्सियल इन्स्योरेन्सको मुनाफा १ अर्ब ७४ करोड रुपैयाँले घटेर १३ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ भने नेको इन्स्योरेन्स कम्पनीको मुनाफा ५५ करोड रुपैयाँबाट घटेर ५४ करोड रुपैयाँमा सीमित भएको छ ।

एनएफआरएसपछि मुनाफामा बृद्धि भएका पाँच कम्पनी
एनएफआरएसपछि चार कम्पनीहरुले मुनाफा बृद्धि समेत भएको देखिएको छ । अजोड इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको मुनाफा एनएफआरएसमा आधारित अडिटको समय अझै बृद्धि हुन पुगेको छ ।

११ करोड ८९ लाख रुपैयाँ मुनाफा रहेको अजोड इन्स्योरेन्सको वास्तविक नाफापछि ३ करोड १ लाख रुपैयाँको अन्तर रहेको छ । एनएफआरएसपछि कम्पनीको वास्तविक मुनाफा १४ करोड ९ लाख रुपैयाँ पुगेको छ ।
आर्थिक बर्ष ७८।७९ को मसान्तसम्ममा ३२ करोड १ लाख रुपैयाँ मुनाफा आर्जन गरेको सिद्धार्थ इन्स्योरेन्स कम्पनीको एनएफआरएसपछि वास्तविक मुनाफा ३५ करोड ५६ लाख रुपैयाँ देखिएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तिय विवरणको आधारमा कम्पनीले उक्त आर्थिक बर्षको मुनाफामा ३ करोड ४६ लाख रुपैयाँ रकम थप भएको हो ।

त्यस्तै, १३ करोड ९६ लाख रुपैयाँ मुनाफा अपरिष्कृत वित्तिय विवरणमार्फत सार्वजनिक गरेको प्रभु इन्स्योरेन्सको अडिट सम्पन्न भई बार्षिक साधारणसभामा पुग्दा वास्तविक नाफा १८ करोड ६१ लाख रुपैयाँ पुगेको छ । वास्तविक मुनाफाका अनुसार कम्पनीले ४ करोड ६५ लाख रुपैयाँ मुनाफा बृद्धि भएको हो ।

त्यस्तै, नेपाल इन्स्योरेन्सको मुनाफामा ९ करोड २७ लाख रुपैयाँ बृद्धि भएको देखिएको छ । गत आवको वित्तिय विवरणमा २३ करोड ८९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीको वास्तविक मुनाफा ३३ करोड १६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, युनाइटेड इन्स्योरेन्सको मुनाफा १३.९६ करोडबाट बृद्धि भई १५.८३ करोड पुगेको छ ।

एनएफआरएस भनेको के हो ?
बैंक तथा वित्तीय संस्थाहरूले जस्तै बीमा कम्पनीहरूले पनि वित्तीय विवरण सार्वजनिक गर्दा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) प्रणालीअनुसार गर्नुपर्ने हुन्छ । अडिट पश्चातको वित्तीय विवरणलार्य वित्तिय विवरणलाई पनि केलाएर यसले सुक्ष्म अध्ययन गर्दछ ।

एनएफआरएस वित्तीय कम्पनीहरूले वित्तीय विवरण बनाउने एउटा अन्तरराष्ट्रिय प्रणाली हो । नेपालले इन्टरनेशनल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (आईएफआरएस) लाई ग्रहण गरेर नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड नाम राखेको हो । एनएफआरएपश्चात् आएको मुनाफालाई वास्तविक मुनाफा मानिन्छ ।

एनएफआरएस अन्तर्राष्ट्रियस्तरको लेखामान पद्धति हो । आर्थिक वर्ष २०७४/७५ देखि बीमा क्षेत्रमा लागू गरिएको छ । एनएफआरएस लागू गरेपछि कम्पनीहरूले अनिवार्य रुपमा दायित्व पर्याप्त परीक्षण (ल्याट) गर्नुपर्छ । यो भनेको एक किसिमको बिमाङ्कीय विश्लेषण हो । यस्तो विश्लेषण गर्न पनि समय लाग्ने भएकाले निर्जीवन बीमा कम्पनीहरूको साधारणसभामा ढिलाइ हुन पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*