आईपीओमा प्रिमियमबापत सर्वसाधारणबाट उठाएको रकम जगेडा कोषमा राख्न बीमा कम्पनीहरुलाई प्राधिकरणको निर्देशन

१९ पुष २०८०, बिहीबार १५:५७

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई आईपीओमा उठाइएको प्रिमियम बापतको रकम जगेडा कोषमा राख्न निर्देशन दिएको छ । हिमालयन रि इन्स्योरेन्स र चारवटा जीवन बीमा कम्पनीले हालै प्रिमियममा आईपीओ जारी गरेका थिए ।

आइएमई लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ ल्याएका हुन् । प्रिमियममा आईपीओ ल्याउने यी सबै कम्पनीलाई पत्राचार गरेर प्राधिकरणले आईपीओ जारी गर्दा प्रिमियममा उठाएको नौं अर्ब ३३ करोड ७२ लाख ५४ हजार रुपैयाँ जगेडा कोषमा राख्न निर्देशन दिएको हो ।

बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालका अनुसार निर्देशन कार्यान्वयन गर्न वुधबारै सबै कम्पनीलाई पत्राचार गरिएको थियो । गएको पुस १२ गते सार्वजनिक लेखा समितिले बीमा ऐन विपरीत बीमा कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएको विषय सच्याउन भन्दै बीमा प्राधिकरणलाई निर्देशन दिएको थियो । लेखा समितिको निर्देशन कार्यान्वयन गर्दै बीमा प्राधिकरणले प्रिमियमबापत संकलित रकम जगेडा कोषमा राख्न बीमा कम्पनीहरुलाई पत्राचार गरेको हो ।

हिमालयन रिइन्स्योरेन्सबाहेक अन्य जीवन बीमा कम्पनीले आफ्ना कर्मचारीलाई अंकित मूल्यमै र अन्य सर्वसाधारणलाई प्रिमियम मूल्यमा शेयर बेचेको तथ्य बाहिर आएको छ । हिमालयन रिइन्स्योरेन्सले कुल तीन करोड कित्ता प्राथमिक शेयर अर्थात् आईपीओ निष्कासनको अनुमति पाएको थियो ।

हिमालयन रि’ले १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम जोडेर २०६ रुपैयाँ आईपीओ बिक्री गरेको हो । जसले प्रिमियमबापत तीन अर्ब १८ करोड रुपैयाँ उठाएको छ । जुन रकम प्राधिकरणले जगेडा कोषमा राख्न भनेको छ ।
सिटिजन लाइफले एक करोड १२ लाख ५० हजार कित्ता आईपीओ बिक्री गरेको छ छ ।

सिटिजनले पाँच लाख ६२ हजार ५०० कित्ता शेयर कर्मचारीलाई र एक करोड छ लाख ८७ हजार ५०० कित्ता १४४ रुपैयाँ प्रिमियम जोडेर सर्वसाधारणलाई बिक्री गरेको थियो । जहाँ प्रिमियमबापत सिटिजनले एक अर्ब ५३ करोड ९० लाख रुपैयाँ उठाएको छ ।

आइएमई लाइफले एक करोड २० लाख कित्ता आईपीओ बिक्री गरेर प्रिमियमबापत एक अर्ब ५६ करोड सात लाख ७४ हजार रुपैयाँ संकलन गरेको थियो । कम्पनीले छ लाख कित्ता अंकित मूल्यमा कर्मचारीलाई र एक करोड १४ लाख कित्ता अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर सर्वसाधारणलाई बिक्री गरेको थियो ।

सन नेपाल लाइफले ९६ लाख कित्ता आईपीओ बिक्री गरेर एक अर्ब २६ करोड ७६ लाख ८० हजार रुपैयाँ प्रिमियम उठाएको थियो । सन नेपालले चार लाख ८० हजार कित्ता अंकित मूल्यमा कर्मचारीलाई र ९१ लाख २० हजार कित्ता अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम जोडेर सर्वसाधारणलाई बिक्री गरेको थियो ।

रिलायबल नेपाल लाइफले एक करोड २० लाख कित्ता आईपीओ बिक्री गर्दा प्रिमियमबापत एक अर्ब ७८ करोड ९८ लाख रुपैयाँ संकलन गरेको थियो । छ लाख कित्ता अंकित मूल्यमा कर्मचारीलाई र एक करोड १४ लाख कित्ता अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थपेर सर्वसाधारणलाई बिक्री गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*