बीमा कम्पनीहरुले बीमित र सर्वसाधारणलाई दिँदैनन् सूचना, नाम मात्रैका सूचना अधिकारी(सूचीसहित)

२२ पुष २०८०, आईतवार १३:४९

काठमाडौं । नेपालको संविधान २०७२ ले मौलिक हक मै व्यवस्था गरिदिएको छ, ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ’ भनेर । सरकारले पनि आफ्नो प्रमुख प्रशासनिक केन्द्र (सिंहदरबार)देखि गाउँतह सम्मका सबै सरकारी गैर एवं गैरसरकारी निकायमा सूचना अधिकारी तोक्ने प्रचलन कायम राखेको छ । तर, त्यो औपचारिकतामा मात्रै सिमित भइरहेको छ ।

संगठित एवं आम नागरिकसँग जोडिएका सरकारी हुन् वा गैरसरकारी निकाय तिनले नागरिकले खोजेका बखत सूचना दिइरहेका छैनन् । हुँदा–हुँदा वेबसाइट र सामाजिक सञ्जालमार्फत कामकाजी सूचना वा जानकारी प्रकाशित गरेको कुरालाई आम सर्वसाधारणलाई सूचनाको दिइएको रुपमा व्याख्या गर्न थालिएको छ ।

चाहिएको बेला नागरिकले सानो भन्दा सानो जानकारी लिन सकिरहेका छैनन् । सूचना अधिकारी तोकिएको छ, मोवाइल नम्बर वा छैन । कतिपय कार्यालयका ल्याण्ड लाइन फेरिएको वर्षौ भइसक्दा पनि वेबसाइटमा पुरानै नम्बर हुन्छ । भएका ल्याण्डलाइनमा एक्सटेन्सन जोडिएको हुन्छ । टेलिफोन सिस्टममा राखिएको छ, तर एक्सटेन्सन थिचिदैन । सिस्टमबाट एउटै कुरा बारम्बार दोहोरिन्छ । कतिपय ठाउँमा घण्टी जान्छ टेलिफोन उठ्दैन । यो रोग सर्वत्र व्याप्त छ ।

यस्तो रोगले बीमा कम्पनीहरु समेतलाई नराम्ररी गाँजेको छ । आम सर्वसाधारण र बीमितको सँधै सम्पर्कमा रहनुपर्ने बीमाकम्पनीहरु पनि सूचना लुकाउने रोगबाटै ग्रसित छन् । औपचारिकताका लागि सूचना अधिकारी सबैले तोकेका छन् । केही गरी सर्वसाधारण र बीमितले केही सोध्नु परिहाले सूचना अधिकारीलाई सम्पर्क गर्न सकिँदैन । प्रधानमन्त्रीलाई सम्पर्क गर्न सहज होला तर, बीमकहरुका सूचना अधिकारीलाई सम्पर्क गर्न सकिँदैन ।

हाल नेपालमा १४ वटा जीवन बीमा कम्पनी र १४ वटा निर्जीवन बीमा कम्पनी गरी कुल २८ वटा कम्पनीहरु सञ्चालनमा छन् । सम्पूर्ण कम्पनीले बीमा प्राधिकरणको नियम अनुसार सूचना अधिकारी नियुक्त गरेका छन् । तर, एकाध कम्पनी बाहेक कसैले पनि सूचना अधिकारीको मोबाइल नम्बर आफ्नो वेबसाइटमा राखेका छैनन् ।

अधिकांश कम्पनीहरुले नियुक्त गरेका सूचना अधिकारी बीमितको गुनासो सुन्नै नचाहने र कतिपय यो विषय त फलानोलाई थाहा हुन्छ भन्दै अन्य कर्मचारीको नम्बर दिएर पन्छिने खालका छन् । हाल सञ्चालितमध्ये २० कम्पनीको आधिकारिक वेशसाइटमा सूचना अधिकारीको मोबाइल नम्बर प्रविष्ट छैन ।

कतिपय कम्पनीले कम्पनीको सिस्टममा जोडिएको टेलिफोन नम्बर र सूचना अधिकारीको नम्बर एउटै राखेर औपचारिकता निभाएका छन् । जुन नम्बरमा सम्पर्क गर्नै सकिँदैन र अडियो सिस्टमले नानाथरी प्रोसेस मात्रै सुनाएर बस्छ ।
कतिपय सर्वसाधारण र बीमितले बीमा पोलिसी लगायतबारेमा जानकारी लिन सोधै बीमा प्राधिकरणको नम्बरमा सम्पर्क गरिरहेका हुन्छन् भने कतिपयले त्यस्तो जानकारी लिन प्राधिकरण भन्दै बीमापोष्टको ल्याण्डलाइनमा दैनिकजसो सम्पर्क गरिरहेका हुन्छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*