चुक्ता पुँजी नपुगेका बीमा कम्पनीलाई प्राधिकरणको सुविधा, एशियन लाइफबाहेक सबैलाई सहज

२४ पुष २०८०, मंगलवार १२:४८

काठमाडौं। नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी हालसम्म नपुराउने कम्पनीले रिजर्भमा रहेको रकमलाई गणना गर्न पाउने व्यवस्था लागू गर्ने भएको छ ।चुक्त पुँजि नपुगेका बीमा कम्पनीहरुलाई चुक्ता पुँजि पुर्याउने प्रयोजनको लागि कोर पुँजिको रुपमा गणना गर्न दिने सम्बन्धमा प्राधिकरणले तयारी गरिरहेको छ ।

चुक्ता पुँजि नपुगेको र प्रिमियममा आईपिओ जारी गरेका बीमा कम्पनीहरु सिटिजन लाइफ, आइएमई लाईफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाइफको चुक्ता पुँजि पाँच अर्ब पुर्याउन प्रिमियम बापत संकलित रकम गणना गर्न पाउने छन् । त्यस्तो रकम उनीहरुले खर्च गर्न वा लाभांश वितरण गर्न भने पाउने छैनन् । कोषमा संचित गरेर राख्नुपर्नेछ ।

कोषमा संचित रकम चुक्ता पुँजि सरह गणना गर्न पाउने भएसँगै चार कम्पनीहरुले विगतमा आर्जित मुनाफा लाभांश बापत विरण गर्न पाउनेछन्।प्राधिकरणका अध्यक्ष सुर्य सिलवालले चुक्ता पुँजी बढाउने उद्देश्यले नै प्रिमियममा शेयर निष्काशन गर्न अनुमति दिइएको बताए ।

हालै सार्वजनिक लेखा समितिले प्रिमियम आईपीओलाई अवैध भन्दै प्रिमियम रकम फिर्ता गर्न प्राधिकरणलाई निर्देशन दिएको थियो । सो लगत्तै प्राधिकरणले बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्काशन गरेका कम्पनीहरुलाई आईपीओ प्रिमियमबापत्को रकम खर्च नगरीकन एउटा कोष बनाएर रिजर्भ राख्न निर्देशन दिएको थियो । प्राधिकरणले प्रिमियम रकमलाई नै बोनस शेयर वितरण गरेर चुक्ता पुँजी पुर्याउन प्रिमियममा आइपीओ निष्काशन अनुमति दिएको भए पनि लेखा समितिको निर्देशनलाई पालना गर्दै प्रिमियम रकमलाई छुट्टै रिजर्भमा राख्न निर्देशन दिएको हो । अब सोही रिजर्भलाई समेत चुक्ता पुँजी मान्ने र नपुगेको रकम मात्रै अन्य माध्यमबाट जम्मा गर्न लगाउने प्राधिकरण अध्यक्ष सिलवालले बताए ।

उनले भने–‘चुक्ता पुँजी ५ अर्ब नपुगेका कम्पनीको हकमा रिजर्भमा भएको रकम समेतलाई चुक्ता पुँजी मान्छौं । सो गर्दा सबैको चुक्ता पुँजी पुग्छ । प्रिमियमबाट उठेको पैसा तिमीहरूले अन्य ठाउँमा खर्च गर्न पाउँदैनौ।अब प्राधिकरणले रिभर्जलाई पनि पूँजी मान्छ । प्राधिकरणले यसो भन्दिएको खण्डमा सबैको पूँजी पुग्छ।’प्राधिकरण अध्यक्ष सिलवालले भने अनुसार रिभर्जलाई समेत जोडेर चुक्ता पुँजी मान्ने भएमा अधिकांश लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी पुग्ने देखिएको छ।

१२ वटा लाइफ इन्स्योरेन्स कम्पनीमध्ये एसियन लाइफ इन्स्योरेन्सको मात्रै रिजर्भ जोड्दा समेत चुक्ता पुँजी नपुग्ने देखिएको छ । पहिलो त्रैमासिक वित्तीय विवरणका आधारमा एसियन लाइफको चुक्ता पुँजी र रिजर्भ जोडदा ३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। कम्पनीले हकप्रद शेयर जारी गर्ने तयारीमा रहेको छ ।

कम्पनीले गत आर्थिक बर्षको साधारणसभा गर्न नसकेको कारण कम्पनीले हकप्रदको लागि प्राधिकरणमा पत्र पठाउन नसकेको कम्पनीले जनाएको छ। प्राधिकरणको एक्चुरी भ्यालुएसन पास भईसकेको, साधारणसभा गर्न मात्रै बाँकि रहेको हुँदा कम्पनीले साधारणसभामार्फत सबै निर्णय भएपश्चात् कम्पनीले हकप्रद शेयरको लागि प्राधिकरणमा आवेदन दिन पाउनेछन् ।

प्राधिकरणले तोकेको समयमा तीन वटा लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै तोकिएको पुँजी पुर्याएका छन् । प्राधिकरणले गत आवको चैत्र मसान्तससम्म लाइफ इन्स्योरेन्स कम्पनीलाई चुक्ता पुँजी पाँच अर्ब पुर्याउन निर्देशन दिएका थिए ।

अधिकांश कम्पनीले चुक्ता पुँजी पुर्याउन नसकेपछि थप तीन महिनाको समय थपेर असार मसान्तसम्म पुर्याउँदा पनि तीन वटा कम्पनीले मात्रै तोकेको चुक्ता पुँजी पुर्याएको हो ।चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण अनुसार नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र नेसनल लाइफ इन्स्योरेन्सले मात्रै तोकिएको चुक्ता पुँजी पुर्याएका छन्।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार हिमालयन लाइफ इन्स्यारेन्सको चुक्ता पुँजी ८ अर्ब २ करोड ३ लाख रुपैयाँ छ भने नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै नेसनल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब १ करोड १६ लाख रुपैयाँ पुगेको छ । हिमालयन लाइफ इन्स्योरेन्समा प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ गरी तीन वटा लाइफ इन्स्योरेन्स कम्पनी मर्जर भएर बनेको कम्पनी हो भने नेपाल लाइफ र नेसनल लाइफले भने बोनस शेयर नै जारी गरेर चुक्ता पुँजी ५ अर्ब भन्दा माथि पुर्याएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*