घट्दै छ बैंकको ब्याजदर

साना अवधिमा मुद्दती निक्षेप घटाउने तयारीमा बैंक
२४ पुष २०८०, मंगलवार १६:२२

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले माघमा निक्षेपको ब्याजदर थप घटाउने भएका छन्।माघमा मुद्दती निक्षेपको ब्याजदर करिब ८ प्रतिशतमा सीमित हुने देखिएको छ।पुसका लागि बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ९।६ प्रतिशतसम्म दिएका थिए। बैंकहरूले मुद्दती निक्षेपमा दिएको औसत ब्याजदर भने ८।९९ प्रतिशत थियो।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरूले हरेक महिना मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतले मात्रै परिवर्तन गर्न सक्ने व्यवस्था छ।यसअनुसार अब माघका लागि बैंकहरूले मुद्दती निक्षेपमा ८।०९१ प्रतिशतदेखि ९।८८ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गर्न सक्छन्।बैंकहरूमा अधिक तरलता रहेकोले माघको लागि धेरै बैंकले ब्याजदर घटाउने तयारी गरेका छन्। हाल बैंकहरूमा ६ खर्ब ५ अर्ब हाराहारी अधिक तरलता छ।

पुँजी कोषमा दबाब रहेका बैंकहरूले समेत निक्षेपको ब्याजदर घटाउने भएका छन्।प्रभु बैंक, कुमारी बैंक, माछापुच्छ्रे, एनआइसी एसिया, हिमालयन लगायतका केही बैंकलाई केही समयअघि देखि नै यस्तो पुँजी कोष दबाब देखिएको छ।राष्ट्र बैंकको निर्देशन अनुसार यस्तो पुँजी कोष अनुपात ८।५ प्रतिशत हुनुपर्नेमा यी बैंकहरूको यस्तो अनुपात ८।८३ देखि ९।९६ प्रतिशतसम्म देखिएको छ।

तरलता दबाबमा देखिदा बैंकहरूले कम अवधिको मुद्दती निक्षेप योजनालाई समेत प्राथमिकतामा राखेका थिए। अब भने लागत बढेको भन्दै यस्तो छोटो अवधिको मुद्दती निक्षेपलाई बैंकहरूले कम प्राथमिकतामा राख्ने भएका छन्।

अहिले कर्जा लगानी बढ्न सकेको छैन, यस्तोमा बैंकहरूले लागत नै घटाउँदै जान पर्ने देखिएको छ,एक बैंकरले भने, लागत घटाउने उपायको रूपमा अब बैंकहरूले छोटो अवधिको मुद्दती निक्षेपलाई घटाउँदै जान पर्ने देखिन्छ।बैंकहरूले तीन महिना अवधिसम्मको समेत मुद्दती निक्षेप योजना सञ्चालन गरिरहेका छन्। अहिले मुद्दती निक्षेपमा पनि यस्तो छोटा अवधिको निक्षेप हिस्सा उच्च छ। यो हिस्सा लगभग ६० प्रतिशत हाराहारी रहेको बताइन्छ।

राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरूले सबै किसिमका निक्षेपको ब्याजदरमा वार्षिक लगभग ४ खर्ब २९ अर्ब रूपैयाँ खर्चिन्छन्। ३ महिनादेखि एक वर्षसम्मको मुद्दती निक्षेपमा मात्रै बैंकहरूले कुल यस्तो खर्चको ३९ प्रतिशत बराबर खर्चिएका हुन्छन्।

अधिक तरलता भएको समयमा कर्जा विस्तार समेत भइरहेको छैन। यही कारण पनि बैंकहरूले लागत बढ्ने यस्ता साना अवधिमा मुद्दती निक्षेप घटाउँदै लैजाने सोच बनाएका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*